काठमाडौं ,पुस १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भाषण पूर्वाग्रहपूर्ण रूपमा सम्पादन गरी मानहानि गरेको आरोप लगाउँदै बेलायती सार्वजनिक प्रसारक बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलरको मुद्दा दायर गरेका छन्। ट्रम्पले सोमबार फ्लोरिडा राज्यको मायामीस्थित संघीय अदालतमा उक्त मुद्दा दर्ता गराएका हुन्।
मुद्दामा बीबीसीको ‘प्यानोरमा’ वृत्तचित्रमा सन् २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको घटनासँग सम्बन्धित ट्रम्पको भाषणलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गरिएको छ। उक्त वृत्तचित्र २०२४ नोभेम्बरको अमेरिकी राष्ट्रपति निर्वाचनअघि प्रसारण भएको थियो। ट्रम्पको कानुनी टोलीका अनुसार भाषणको सम्पादन जानाजानी, दुर्भावनापूर्ण र भ्रामक ढंगले गरिएको थियो, जसले ट्रम्पले हिंसा भड्काएको जस्तो गलत सन्देश दिएको आरोप छ।
४६ पृष्ठ लामो आरोपपत्रमा ट्रम्पले मानहानि तथा फ्लोरिडाको कपटपूर्ण तथा अनुचित व्यापारिक अभ्याससम्बन्धी कानुन उल्लंघन गरेको दाबी गर्दै दुवै शीर्षकमा पाँच–पाँच अर्ब डलर क्षतिपूर्ति माग गरेका छन्। अमेरिकी पत्रिका द न्यू योर्क टाइम्सका अनुसार, ट्रम्पको कानुनी टोलीले यसअघि नै बीबीसीलाई कार्यक्रमबाट ‘झूटा र अपमानजनक’ सामग्री हटाउन पत्र पठाएको थियो।
बीबीसीले भने उक्त प्रकरणमा माफी मागिसकेको छ। संस्थाले जारी गरेको विज्ञप्तिमा भिडियो सम्पादनप्रति दुःख व्यक्त गर्दै कार्यक्रम पुनः प्रसारण नगर्ने जनाएको छ। तर, मानहानिको दाबीलाई भने बीबीसीले अस्वीकार गरेको छ।
उक्त सम्पादनबारे बीबीसीकै आन्तरिक परिपत्र सार्वजनिक भएपछि विवाद चर्किएको थियो। सो परिपत्रमा भाषणका दुई अलग–अलग अंश जोडेर प्रस्तुत गर्दा ट्रम्पले हिंसा उक्साएको जस्तो देखिएको उल्लेख थियो। यस घटनापछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका थिए।
यद्यपि कानुनी विश्लेषकहरूले ट्रम्पले मुद्दा जित्न कठिन हुने बताइरहेका छन्। बीबीसीको कार्यक्रम अमेरिकामा प्रत्यक्ष प्रसारण नभएको र अमेरिकी संविधानले प्रेस स्वतन्त्रालाई व्यापक संरक्षण दिएको कारण मुद्दा कमजोर हुन सक्ने उनीहरूको तर्क छ। सार्वजनिक व्यक्तिमाथि मानहानि पुष्टि गर्न ‘जानाजानी गलत सूचना प्रसारण गरिएको’ प्रमाणित गर्नुपर्ने भएकाले ट्रम्पका लागि कानुनी चुनौती उच्च देखिन्छ।






