काठमाडौं, पुस १ । युक्रेनले पहिलो पटक पानीमुनि चल्ने समुद्री ड्रोन प्रयोग गरी रूसी पनडुब्बीमा गम्भीर क्षति पुर्याएको दाबी गरेको छ। युक्रेनका सुरक्षा सेवाले(एसबियु) नोभोरोस्सियस्क सहर नजिकैको बन्दरगाहमा रहेको ‘किलो क्लास’ पनडुब्बीमा ‘सब सी बेबी’ ड्रोन मार्फत हमला गरिएको बताएका छन्।
एसबियुले एउटा भिडिओ फुटेज पनि सार्वजनिक गरेको छ, जसमा बन्दरगाहको संरचना र घाटहरू देखिन्छन्। भिडिओ अनुसार उक्त पनडुब्बी र अन्य जहाजहरू नजिकै रहेका थिए र विस्फोटको क्षति स्पष्ट देखिन्छ। युक्रेनले दाबी गरेको छ कि क्राइमियाबाट आफ्ना पानी जहाजहरू हटाउन बाध्य भएको रूसले सो पनडुब्बी नोभोरोस्सियस्कमा सार्नुपरेको थियो।
युक्रेनका अनुसार, सो पनडुब्बी क्रुज मिसाइल प्रहार गर्न सक्षम छ र यसलाई निर्माण गर्न रूसले करिब ४० करोड डलर ९५७ अर्ब रूपैयाँ० खर्च गरेको थियो। युक्रेनले पानीमुनि चल्ने ड्रोनले कुनै पनि पनडुब्बीलाई निष्क्रिय बनाएको पहिलो घटना भएको दाबी पनि गरेको छ।
तर रूसले यस दाबीलाई अस्वीकार गरेको छ। रूसी नौसेनाले विज्ञप्ति जारी गर्दै नोभोरोस्सियस्क नौसेना बेसमा आफ्ना कुनै पनि जहाज, पनडुब्बी वा चालक दललाई क्षति नभएको बताएका छन्। उनीहरूले हाल सबै जहाज र पनडुब्बी सामान्य रूपमा ड्यूटीमा रहेको दाबी गरेका छन्।
यस घटनाले युक्रेन–रूसबीचको सागरमार्गीय सुरक्षा र सैन्य प्रविधिमा नयाँ मोड ल्याएको विश्लेषकहरूले टिप्पणी गरेका छन्। युक्रेनको दाबी र रूसको अस्वीकारबीच विवाद जारी रहँदा, अन्तर्राष्ट्रिय सुरक्षा समुदायले यो घटनालाई ध्यानपूर्वक विश्लेषण गरिरहेको छ।






