काठमाडौं , पुस २ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा मतदान जारी रहेका बेला प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
मतदानस्थलमा महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लामबद्ध भइरहेका छन् भने नेता तथा समर्थकहरू आफ्ना पक्षका उम्मेदवारलाई भोट माग्दै सक्रिय देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
यही क्रममा प्यानलका उम्मेदवारहरूको नामावली अदलबदल गरी भ्रामक सूची बनाइ प्रचार गरेको आरोपमा अछाम घर भएका शंकर सावदलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। एमाले कार्यकर्ताहरूले सावदले प्रतिनिधिहरूलाई बाँड्ने नामावलीमा फेरबदल गरी गलत सूचना फैलाएको आरोप लगाएपछि उनलाई मतदान केन्द्र परिसरबाटै पक्राउ गरिएको हो।
प्रहरीका अनुसार सावदलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाले मतदानस्थलको वातावरण केहीबेर तनावपूर्ण बनेको भए पनि सुरक्षाकर्मीको सक्रियताले अवस्था नियन्त्रणमा आएको जनाइएको छ।
पार्टी नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीहरू परिचालित छन्। पार्टी स्रोतका अनुसार मतदान प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार नै अघि बढिरहेको छ।




