काठमाडौं , पुस ३ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले आफ्नो अग्रता थप फराकिलो बनाएका छन् । सुरुमा कडा प्रतिस्पर्धा देखिए पनि पछिल्लो मतगणनाको अध्यावधिक विवरणअनुसार पोखरेलले स्पष्ट मतान्तर कायम गरेका हुन् ।
निर्वाचन समितिका अनुसार हालसम्मको गणनामा शंकर पोखरेलले २४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । यससँगै पोखरेल र पाण्डेबीचको मतान्तर बढ्दै गएको छ ।
महासचिव पदका लागि यी दुई नेताबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो । प्रारम्भिक मतपरिणाममा दुवैबीच मतान्तर न्यून देखिए पनि पछिल्ला चरणमा पोखरेलले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय मतदानमार्फत मतगणना भइरहेको छ । महासचिव पद पार्टी संगठन सञ्चालनका हिसाबले महत्वपूर्ण मानिने भएकाले यस पदको परिणामलाई विशेष चासोका साथ हेरिएको छ ।
मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको छ । बाँकी मतगणनामा परिवर्तन आउन सक्ने सम्भावना रहे पनि हालसम्मको अवस्थाले शंकर पोखरेललाई बलियो स्थितिमा देखाएको छ ।




