एजेन्सी, पुस ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा लगाइएको यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै सिरिया र मालीसहित ३९ देशका नागरिकलाई अमेरिकामा प्रवेश निषेध गरेका छन्। राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै ट्रम्पले यससम्बन्धी घोषणापत्रमा हस्ताक्षर गरेका हुन्।
ह्वाइट हाउसका अनुसार नयाँ निर्णयअनुसार बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान, सिरिया तथा फलस्तीनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका नागरिकहरू माथि पूर्ण प्रतिबन्ध लगाइएको छ।
यसअघि आंशिक प्रतिबन्धमा रहेका लाओस र सिएरा लियोन माथि पनि अब पूर्ण यात्रा प्रतिबन्ध लागू गरिएको छ। विस्तारित यात्रा प्रतिबन्ध आगामी जनवरी १ देखि लागू हुने जनाइएको छ।
अमेरिकी प्रशासनले विदेशी आतंकवाद, अवैध आप्रवासन र सम्भावित सुरक्षा खतराबाट देशलाई जोगाउन यस्तो कदम चालिएको जनाएको छ। ट्रम्पले यसअघि पनि यस्ता प्रतिबन्धहरूलाई अमेरिकाको सुरक्षा हितसँग जोड्दै आएका छन्।
यसअघि गत जुन महिनामा ट्रम्पले १२ देशका नागरिकमाथि पूर्ण यात्रा प्रतिबन्ध र ७ देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका थिए। ती देशहरूमाथि लगाइएको प्रतिबन्ध अझै पनि लागू अवस्थामा रहेको ह्वाइट हाउसले जनाएको छ।
यो निर्णय ट्रम्पले नोभेम्बरमा सिरियाली राष्ट्रपति अहमद अल–शारासँग भेटपछि “सिरियालाई सफल बनाउन सहयोग गर्ने” भनाइ दिएको केही समयमै आएको हो। उल्लेखनीय छ, अल–शारा अल–कायदा निकट पूर्व कमाण्डर मानिन्छन् र उनीमाथि हालसम्म पनि वाशिंगटनले कडा निगरानी राख्दै आएको छ।






