एजेन्सी, पुस ६ । पाकिस्तानको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ। तोशाखाना अनुसन्धानसँग सम्बन्धित मुद्दामा शनिबार, डिसेम्बर २० ९६ पुस० का दिन अदालतले दुवैलाई समान सजाय सुनाएको हो।
१७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ। जरिवाना नतिरे थप कैद सजाय भोग्नुपर्ने चेतावनी अदालतले दिएको छ। यो फैसला रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले सुनाएको हो, जहाँ इमरान खान हाल थुनामा छन्।
अदालतका अनुसार, इमरान खान र बुशरा बीबीले पाकिस्तानको तोशाखाना प्रणालीअन्तर्गत प्राप्त विदेशी उपहार खरिद गर्दा गम्भीर अनियमितता गरेका छन्। पाकिस्तानमा विदेशबाट प्राप्त उपहारहरू राज्यकोषमा बुझाउनुपर्ने वा तोकिएको मूल्य तिरेर खरिद गर्नुपर्ने कानुनी व्यवस्था छ।
अभियोजन पक्षका अनुसार सन् २०२१ मा साउदी अरबका युवराजबाट प्राप्त बुलगारी ब्रान्डको महँगो आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरिएको थियो। करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त सेट करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिइएको दाबी गरिएको छ, जसले सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको अभियोग लगाइएको छ।
न्यायाधीश शाहरुख अर्जुमन्दले विश्वासघातको अभियोगमा १०–१० वर्ष र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७–७ वर्षको सजाय सुनाएका हुन्।
इमरान खान र बुशरा बीबीका वकिलहरूले यो फैसला राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै उच्च अदालतमा चुनौती दिने तयारी गरिरहेका छन्। इमरान खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। सत्ता बाहिरिएपछि उनी थुप्रै कानुनी मुद्दाको सामना गर्दै आएका छन्।
यस फैसलापछि पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० ले यसलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएको छ भने समर्थकहरूले विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्।






