काठमाडौँ, पुस ७ । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अब जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गरेका छन्।
सर्वोच्च अदालतमा बुझाउन लागिएको पूरक निवेदनमा मुद्दाको पक्ष कायम राख्ने उद्देश्यका लागि हस्ताक्षर भएको हो। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी सांसद हसिना खान, जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेसम्म कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरिसकेको जानकारी दिए। उनले भने, “हामीले ६५ जनाको हस्ताक्षर जुटाएपछि अब अदालतमा बहुमत सांसदको हस्ताक्षर पुग्ने भएको छ। अब कानुन व्यवसायीमार्फत हस्ताक्षर अदालतमा पठाइनेछ।”
यसअघि नेकपा एमालेले ७५ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाइसकेको थियो। कांग्रेस र एमालेको हस्ताक्षर जोडिएपछि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहुमत सांसदको समर्थन सुनिश्चित भएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ। कांग्रेस र एमालेका हस्ताक्षर जोड्दा १४० मत पुग्नेछ। त्यसबाहेक अन्य तीन सांसदको हस्ताक्षर थपिँदा कुल १४३ सांसदको समर्थन प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सर्वोच्चमा पुग्ने भएको छ।






