काठमाडौं , पुस ७ । मिराज ढुङ्गाना नेतृत्वको जेन–जी समूहले माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपका क्रममा अभियन्ता निकोलस भुसाललगायत केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।
माइतीघर क्षेत्रमा आज आयोजित उक्त प्रदर्शनमा जेन–जी समूहले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका थिए । तर काठमाडौं प्रशासनले माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिएको अवस्थामा स्थानीय प्रशासनको आदेश अवज्ञा गर्दै प्रदर्शन गरिएको भन्दै प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।
प्रहरीका अनुसार अनुमति नलिई सार्वजनिक स्थानमा भेला भई प्रदर्शन गरेपछि स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएकाले प्रदर्शनकारीलाई तितरबितर पारिएको हो । सोही क्रममा निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूको संख्या भने खुलाइएको छैन ।
जेन–जी समूहले भने शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न खोज्दा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएको छ । समूहका प्रतिनिधिहरूले पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन् ।
यसैबीच, मिराज ढुङ्गाना नेतृत्वको जेन–जी समूहले आजै देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ । उनीहरूले सरकारले आफ्ना मागप्रति गम्भीर नभए आन्दोलन थप विस्तार गर्ने चेतावनी दिएका छन् ।
माइतीघर क्षेत्रमा भएको प्रहरी हस्तक्षेपपछि राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । स्थिति सामान्य राख्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।




