एजेन्सी, पुस ८ । क्रिसमस किनमेलको व्यस्त समयमा फ्रान्सको राष्ट्रिय डाक सेवा र यसको बैंकिङ शाखा साइबर हमलाको शिकार बनेका छन्।
सोमबार भएको यस घटनाका कारण अनलाइन सेवाहरू ठप्प भए र प्याकेज डेलिभरी तथा भुक्तानीमा ठूलो ढिलाइ भएको छ। डाक सेवाले यो हमला ‘डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस’ डिडिओएस प्रकारको रहेको पुष्टि गरेको छ भने ग्राहक डेटा सुरक्षित रहेको जानकारी दिएको छ।
डिडिओएस हमला भनेको अनलाइन सेवा, वेबसाइट वा नेटवर्कमा धेरै स्रोतबाट भारी मात्रा नकली ट्राफिक पठाएर सेवा ठप्प पार्ने साइबर प्रविधि हो। यसबाट वास्तविक प्रयोगकर्ताहरूले सेवा प्रयोग गर्न सक्दैनन्।
पेरिसस्थित पोस्ट अफिसमा कर्मचारीहरू ग्राहकहरूलाई फर्काउँदै देखिएका थिए। बैंकले भने मोबाइल एपमार्फत भुक्तानी असम्भव भएको र अनुमोदन अब टेक्स्ट मेसेज मार्फत गरिएको जानकारी दिएको छ।






