रुकमिणी साह
जनकपुरधाम, पुस ८ । पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन खेल बुधबार जनकपुरधाममा हुने भएको छ।
स्थानीय रंगभूमी मैदानमा जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा विद्यालयस्तरका खेलाडीको प्रतिभा पहिचान र क्रिकेटको विकासलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन हुने छ। प्रतियोगिताको पूर्वसन्ध्यामा मंगलबार नगर प्रमुख मनोज कुमार साह र उपमहानगरपालिकाका कर्मचारी सिताराम मेस्तरले संयुक्त रूपमा ट्रफी अनावरण गरेका छन्।
ट्रफी अनावरण कार्यक्रममा समाजका सबै वर्ग र पेशाप्रति समान सम्मानको सन्देश प्रवाह गर्न जनप्रतिनिधि र कर्मचारीलाई सहभागी गराइएको आयोजकको दावी छ । राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले खेलमार्फत सम्मान, समावेशिता र समानताको सन्देश व्यवहारमै लागू गर्न ट्रफी अनावरण फरक ढंगले आयोजना गरिएको बताए।
प्रतियोगितामा जनकपुरधामसहित आसपासका २४ वटा विद्यालयका टिम सहभागी हुनेछन्। उद्घाटन खेल बुधबार मदर टेरेसा स्कुल र याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुपबीच हुनेछ। विगत वर्ष प्रतियोगिताको उपाधि मदर टेरेसाले जितेको थियो।
प्रतियोगिताका खेलहरू बाह्रविघा मैदानमा तय तालिकाअनुसार सञ्चालन हुनेछन्। आयोजकले खेलप्रेमी दर्शक, अभिभावक र सरोकारवालालाई खेल हेरेर विद्यालयस्तरका खेलाडीलाई हौसला प्रदान गर्न आग्रह गरेका छन्






