जनकपुरधाम, फागुन ३० । मधेश केन्द्रित दलहरुको साझा मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको प्रति समाजिक संजालमा अहिले कटाक्षको ओइरो लागेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा एक सिट पनि जित्न नसकेका मोर्चाको हिजो सम्पन्न बैठकले बालेन्द्र शाह नेतृत्वमा गठनहुने सरकारलाई स्वागत गर्ने निर्णय गरेपछि मोर्चा आवद्ध दलकै नेताहरुले कटाक्ष गर्न थालेका छन ।
हिजो मात्रै तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहलमा बसेको मोर्चाको बैठकले मधेशी मुलको प्रधानमन्त्री हेर्ने मधेशी जनताको वर्षौ देखीको चाहना बालेन्द्र शाहको रुपमा पुरा हुन लागेको भन्दै स्वागत गर्ने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
उक्त बैठकले बालेन्द्र शाहलाई स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, प्रदेशको सीमाङकन सहितको विषयमा दृढ रहन सुझाव समेत दिएका थिए ।
मोर्चाको विज्ञप्ति सार्वजनिक भए लगतै मोर्चा आबद्ध दलकै नेताहरुले मोर्चाको औचित्य समाप्त भएको भन्दै समाजिक संजाल मार्फत कटाक्ष गर्न थालेका छन ।
जसपा नेपालका नेता सुरेन्द्र कुमार झा आफनो फेसबुक वालमा कटाक्ष गर्दै लेखेका छन, ‘आज वल्ल थाहा पाए बिगत १८ बर्ष देखि मधेशी पार्टीहरुले वालेनलाई प्रधानमन्त्री बनाउनलाई संघर्स गरेको रहेछ । चुनाव अधि एकीकरण वा तालमेल नहुने कारण पनि यहि रहेछ ।’
उनले अर्को स्ट्याटस लेख्दै मोर्चा आबद्ध दलहरुको विगतबारेमा समेत प्रश्न गरेका छन ।
त्यस्तै जसपा नेपालकै अर्का नेता शैलैन्द्र प्रसाद साहले समाजिक संजालमा प्रश्न तेस्र्याउदै लेखेका छन , चुनावमा सहकार्य गर्न नसक्ने मोर्चाको औचित्य के ?’
उनले फेसबुकमा लेखेका छन ,‘ संघीय लोकतान्त्रिक मोर्चा नाम सुन्दा ठूलो राजनीतिक पहल जस्तो लाग्छ, तर व्यवहारमा यो जनताको आन्दोलनको मञ्च भन्दा पनि केही नेताहरूको स्वार्थ मिलाउने “क्लब” जस्तो देखिन थालेको छ।
चुनावमा सहकार्य छैन, साझा कार्यक्रम छैन, जनताको मुद्दामा स्पष्ट आवाज छैन—यस्तो अवस्थामा मोर्चाको औचित्य के ?संघीयता, समावेशिता र मधेशको अधिकारका लागि बनेको भनिएको संरचना यदि केवल फोटो खिच्ने र विज्ञप्ति निकाल्ने मंचमै सीमित हुन्छ भने त्यो आन्दोलन होइन, भ्रम मात्र हो।
राजनीति जनताको विश्वासले टिक्छ, नेताहरूको अस्थायी जमघटले होइन। त्यसैले अब समय आएको छ—या त यो मोर्चाले स्पष्ट उद्देश्य, कार्यक्रम र जनसंघर्षको बाटो देखाओस्, नत्र यसको औचित्य समाप्त भएको स्वीकार गरेर विघटन होस्।’
राष्ट्रिय मुक्ति पार्टीका नेता दीपक झाले समाजिक संजालमा लेखेका छन , बालेन मधेशी होइन भने किन बधाई, मधेशी मोर्चाको निर्णय।’
मोर्चाको निर्णय प्रतिको कटाक्षले अहिले समाजिक संजाल भरिएको छ । कोही लगन पछि पोतेको के काम भन्दै प्रश्न गरेका छन भने कोही मोर्चा विघटनको मांग गरेका छन ।
गत निर्वाचनमा दलका शीर्ष नेताहरुले आफनो व्यक्तिगत टकरावका कारण एक हुन नसके पछि निर्वाचनमा लज्जास्पद हार पछि पछि पुन मोर्चाको राजनीति गर्नु उचित नहुने भन्दै मोर्चा विघटन हुनु पर्ने तर्क गरेका छन ।






