कांग्रेसका निवर्तमान सांसद सुनिल शर्मा पनि बालेनसँग संवादमा



काठमाडौँ , पुस  १० । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलको अभियान अघि बढाइरहेका क्रममा नेपाली कांग्रेसका निवर्तमान सांसद सुनिल शर्मासमेत संवादमा सामेल भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँग तालमेल नमिल्ने परिस्थितिमा बालेनले नयाँ दल निर्माणतर्फ सक्रिय हुँदै गर्दा शर्मा पनि वार्तामा सहभागी भएका हुन् ।

बालेनले गएरातिदेखि जनमत पार्टीका सीके राउत, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का रेशम चौधरी, भीम उपाध्याय, ऋषि धमला, सागर ढकाल, निश्चल बस्नेत, असिम शाह लगायत राजनीतिक नेता र उद्योगी–व्यापारीसँग छलफल गरेका थिए ।

आज बिहान उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग भेट गरेपछि बालेन–रवि बीच पनि वार्ता जारी रहेको छ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची बुझाउने समय नजिकिँदै गएपछि बालेन अग्रसर भएर राजनीतिक भेटघाट र छलफलमा जुटेका हुन् ।

बालेनले पार्टी दर्ता भएको ‘देश विकास पार्टी’मार्फत आगामी निर्वाचनमा सक्रिय हुने तयारी गरेका छन् । पार्टीमा सन्ध्या खनाल अध्यक्ष रहँदैछ र ‘लौरो’ चुनाव चिह्न रहेको छ ।

बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा भएको भेटपछि सांसद शर्माले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा पनि छलफल भएको जानकारी दिएका छन् । शर्मा अनुसार, “प्रतिनिधिसभा पुनर्स्थापना हुँदा के हुन्छ भन्ने विषयमा छलफल भयो,” उनले मिडियालाई छोटो प्रतिक्रिया दिँदै बताए ।

स्रोतका अनुसार, बालेनले विभिन्न राजनीतिक दल र स्वतन्त्र नेताहरूलाई समेट्दै साझा रणनीति निर्माणमा ध्यान दिइरहेका छन् । आगामी निर्वाचनमा नयाँ दलको प्रभावकारी सहभागिता सुनिश्चित गर्न बालेन सक्रिय भूमिका खेल्दै छन्, जसले काठमाडौं र प्रदेशस्तरीय राजनीतिमा नयाँ ढाँचा निम्त्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष ११, बिहिवार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको