चितवन , पुस १० । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं। ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।
सो पार्टीको क्षेत्रीय बैठक जगतपुरमा बसेको थियो। बैठकले रेनुलाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत रूपमा सिफारिस गरेको हो। उनका सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने नेकपा नेता सन्तोष पनेरुले जानकारी दिएका छन्।
भरतपुर महानगरपालिकामा करिब एक वर्षे कार्यकाल बाँकी छँदै रेनु दाहालले महानगर प्रमुख पदबाट राजीनामा दिने तयारी गरिरहेकी छन् र आगामी निर्वाचनमा होमिने योजना बनाएकी छिन्। उनले महानगरपालिकामा झन्डै ९ वर्षको अनुभव र जनताको विश्वाससहित चुनावमा भाग लिने बताइन्।
रेनु दाहालले विगतमा काठमाडौंमा उम्मेदवार बनेर हार्नुपर्ने परिस्थिति समेत भोगेकी भएकाले यसपटक चितवन क्षेत्र नं। ३ का जनताको अपार विश्वास आफूलाई सधैं साथमा रहेको बताइन्। उनले भरतपुर र माडी क्षेत्रका जनताको समर्थन आफ्नो जीवनभरको प्रेरणाका स्रोत रहेको पनि बताइन्।
यस निर्वाचन क्षेत्रमा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन्। २०७४ सालको निर्वाचनमा रेनुका पिता तथा तत्कालीन एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यस क्षेत्रबाट जित हात पारेका थिए।
२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा। भोजराज अधिकारी र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे बीच प्रतिस्पर्धा भएको थियो। यसपटक रेनु दाहालले आफ्नो अनुभव र जनसमर्थनसहित यस निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेकी छिन्।




