काठमाडौं , पुस ११ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन को तयारीअनुसार निर्वाचन आयोगले मतदाता र मतभार सार्वजनिक गरेको छ। कोशी प्रदेशमा मुख्य तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।
निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष मतदाता हुनेछन्। आयोगले सार्वजनिक गरेको सूची अनुसार कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य र २७४ स्थानीय तहका पदाधिकारी गरी कुल ३६७ मतदाता छन्। प्रदेश सभाका मतभार ४९२९ र स्थानीय तहका ५२०६ गरी कुल १०,१३५ मतभार रहेका छन्।
कोशी प्रदेश अन्तर्गत पदावधि सक्ने १८ सदस्यमध्ये एमालेका देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम र नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की रहेका छन्। रिक्त तीन सदस्यको लागि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले बीच हुने देखिन्छ।
एमालेले प्रदेश सभामा २१२० र स्थानीय तहमा २०९० गरी कुल ४२१० मतभार पाएको छ। कांग्रेसको मतभार प्रदेश सभामा १५३७ र स्थानीय तहमा २१६६ गरी कुल ३७०३ मतभार छ। माओवादी केन्द्रको प्रदेश सभामा ६८९ र स्थानीय तहमा ६०८ गरी कुल १२९७ मतभार छ। नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता पछि थप ३४५ मतभार जोड्दा माओवादीको कुल मतभार १६४२ पुगेको छ।
त्यस्तै अन्य दलमा राप्रपा ३९४, जसपा नेपाल १६७ र स्वतन्त्र उम्मेदवार ५७ मतभार पाएका छन्।
निर्वाचन कार्यतालिका अनुसार, पुस १९ गते मतदाता नामावली सार्वजनिक हुनेछ। पुस २२ मा दाबी–विरोधपछि अन्तिम नामावली प्रकाशित हुनेछ। पुस २३–२७ गते उम्मेदवार मनोनयन, उजुरी र अन्तिम नामावली प्रकाशन कार्यतालिका निर्धारण गरिएको छ।
विशेषज्ञका अनुसार, मुख्य तीन दल एक्लै प्रतिस्पर्धा गरेमा कोशी प्रदेशमा एमालेको वर्चस्व बलियो रहने छ। कांग्रेस र माओवादीको तालमेल नभएमा एमालेको अग्रता निश्चित देखिन्छ।




