विराटनगर, मंसिर २९ । कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ गइसकेका छन्। यही कारण प्रदेश सभा समेत निष्क्रिय भएको छ भने विपक्षी दलका नेताहरू सरकारले गतिविधिमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका छन्।
एमालेबाट निर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवको उम्मेदवार बनेका छन्। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, राज्यमन्त्री सिर्जना राई पनि काठमाडौँमै रहेका छन्। त्यसमध्ये रामबहादुर मगर ओली पक्षबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन्। अन्य मन्त्रीहरू पनि महाधिवेशन प्रतिनिधि बनेका छन्।
कांग्रेसका मन्त्रीहरू भने प्रदेशमा नभएको देखिन्छन्। भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई गृहजिल्ला खोटाङमा विकास कार्यमा व्यस्त छन् भने पर्यटन, वन तथा वातावराण मन्त्री सदानन्द मण्डल काठमाडौंमा पर्यटन बोर्डको कार्यक्रममा सहभागी छन्। उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गाम पनि विराटनगर बाहिर छन्।
प्रदेश सभा पनि निष्क्रिय देखिएको छ। दोस्रो कार्यकालमा दर्ता भएका ३४ विधेयकमध्ये २७ पारित भएका छन् भने ४ निष्क्रिय र २ विचाराधीन अवस्थामा छन्। प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङ्बोले सरकारले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान नदिएको र जानाजान संसद् छल्न खोजेको आरोप लगाए।
प्रदेश सभा सचिवालय आगजनीबाट क्षतिग्रस्त भएपछि मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा सारिएको छ। संघीय सरकारको १३ करोड ७६ लाख लगानीमा बनेको भवन लामो समयदेखि बेवारिसे रहेको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालयले मर्मतका लागि ५ करोड ४० लाख २४ हजार ७ सय ९२ रुपैयाँ मागेको भए पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत सुनिश्चित नगरेकोले काम सुरु हुन सकेको छैन।
सभाका समितिहरूको हल मर्मतका लागि २ करोड ८५ लाख र सभाहल निर्माणका लागि २ करोड १३ लाख रुपैयाँ प्रस्ताव गरिएको छ। यसै परिस्थितिमा प्रदेश सरकारको गतिविधि कमजोर र प्रभावहीन देखिएको छ।






