जनकपुरधाममा भारतीय जिलियो ब्रान्डका इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालन



जनकपुरधाम , असोज ३० ।  विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएको अवस्थामा जनकपुरधाममा भारतीय जिलियो ब्रान्डका इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनमा आएको छ ।

जनकपुरधामको मिल्स एरियामा जनकनन्दनी ट्रेडर्समार्फत स्कुटरको बिक्री सुरु गरिएको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले शोरुमको उद्घाटन गरेका छन् । गो ग्रिन बिजनेस सोलुसन प्राइभेट लिमिटेडका निर्देशक राकेश गुप्ताका अनुसार जनकपुरधाममा जिलियो ब्रान्डका पाँचवटा मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ ।

मोडलअनुसार स्कुटरको मूल्य १ लाख ६० हजार रुपैयाँदेखि २ लाख ३० हजार रुपैयाँसम्म रहेको गुप्ताले जानकारी दिए । उनका अनुसार स्कुटरमा लिड एसिड र लिथियम ब्याट्रीका विकल्प उपलब्ध छन् ।
कम्पनीका अनुसार विभिन्न मोडलले एकपटक पूर्ण चार्ज गर्दा करिब ७० देखि ९० किलोमिटरसम्म दूरी तय गर्न सक्छन् भने केही मोडलमा १२० किलोमिटरसम्मको रेन्ज दाबी गरिएको छ । यद्यपि, वास्तविक दूरी ब्याट्रीको अवस्था, सडकको प्रकृति, गति र सवारीमा रहेको भारअनुसार फरक पर्न सक्छ ।

गुप्ताले ब्याट्री तथा मोडलअनुसार दुईदेखि तीन वर्षसम्मको वारेन्टी उपलब्ध गराइने बताए । स्कुटर खरिद गर्नुअघि ग्राहकले ब्याट्रीको प्रकार, चार्जिङ समय, वारेन्टीका सर्त तथा बिक्रीपछिको सेवाबारे जानकारी लिन सक्ने उनले उल्लेख गरे ।

उनका अनुसार नेपालका विभिन्न नौ स्थानमा शोरुम सञ्चालन गरिसकेको कम्पनीको जनकपुरधामस्थित शोरुम दसौँ शाखा हो । भारतीय बजारमा जिलियो ब्रान्डका स्कुटरले राम्रो प्रतिक्रिया पाइरहेको दाबी गर्दै उनले जनकपुरधाममा पनि ग्राहकको रुचि बढ्ने विश्वास व्यक्त गरे ।

शोरुम उद्घाटनका क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीले नयाँ व्यवसाय सञ्चालनमा आउनुले स्थानीय व्यापारिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने बताए । नयाँ ब्रान्ड बजारमा भित्रिँदा उपभोक्ताले विभिन्न विकल्पमध्ये आफूलाई उपयुक्त सवारीसाधन छनोट गर्न पाउने उनको भनाइ थियो ।

विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन खर्च घटाउन सहयोग गर्ने उल्लेख गर्दै भण्डारीले यसको बजार विस्तारका लागि गुणस्तरीय उत्पादन, भरपर्दो बिक्रीपछिको सेवा र स्पेयर पाट्र्सको सहज उपलब्धता आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार १९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको