काठमाडौं , पुस ११ । प्रधानमन्त्री सुशीला कार्की ले आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि तीन प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन्। बैठक शनिबार राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू सहभागी हुनेछन्। बैठकको मुख्य एजेन्डा आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन को तयारी, राजनीतिक समन्वय र दलहरूबीच सहकार्यका विषयहरू रहेको बताइएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल का अनुसार, आज बिहान उनले कांग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओली लाई भेटेर बैठकको निम्तो दिइसकेका छन्। त्यस्तै आजै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि बैठकमा सहभागी गराउन निम्तो दिने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री कार्कीको पहलले राजनीतिक दलहरूबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूले यस बैठकलाई निर्वाचनपूर्व संवाद र सहमति खोज्ने महत्त्वपूर्ण प्लेटफर्मको रूपमा मूल्याङ्कन गरेका छन्।
तीन प्रमुख दलका नेताहरूले बैठकमा निर्वाचन तयारी, मतदाता सुरक्षा, निर्वाचन व्यवस्थापन र राजनीतिक स्थायित्व सम्बन्धी विषयमा छलफल गर्नेछन्। यसले आगामी चुनावलाई पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रधानमन्त्री कार्कीको यो कदमले दलहरूबीचको संवादलाई सक्रिय बनाउने र राजनीतिक अस्थिरता न्यूनिकरण गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्लेषकहरूले बताएका छन्।




