जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीविरुद्धको रिटमा आज सर्वोच्चको फैसला



काठमाडौं , पुस  ११ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की को अध्यक्षतामा गठन गरिएको जाँचबुझ आयोगविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ।

आयोगका अध्यक्ष कार्कीसहित सम्पूर्ण पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै कात्तिक १८ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। उक्त रिटमाथि शुक्रबार निर्णय सुनाउने गरी पेसी तोकिएको हो।

न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेल को संयुक्त इजलासले आज फैसला सुनाउने तयारी गरेको छ। आयोगका सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्। आयोग र पदाधिकारीविरुद्ध अधिवक्ता विपिन ढकाल ले रिट दायर गरेका हुन्।

रिट निवेदनमा पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्ष बनाइनुले न्याय प्रणालीले अंगीकार गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन भएको उल्लेख गरिएको छ। साथै अध्यक्ष कार्कीले आफैंले छानबिन गर्नुपर्ने विषयमा सञ्चारमाध्यममा समाचार साझा गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइ र निर्दोषिताको सिद्धान्त उल्लंघन भएको दाबी गरिएको छ।

रिटमा निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगका अध्यक्ष तथा सदस्यहरूलाई कुनै पनि कामकारबाही नगर्न र नगराउन अन्तरिम आदेश माग गरिएको थियो।

यसअघि उक्त रिटमा मंसिर २५ गते र पुस ३ गते निर्णय सुनाउने गरी पेसी तोकिएको भए पनि विभिन्न कारणले निर्णय सुनाउने मिति सरेको थियो। पटक–पटक मिति सरेपछि आजको फैसला प्रतीक्षामा कानुनी तथा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।

सर्वोच्चको आजको निर्णयले जाँचबुझ आयोगको भविष्य, छानबिन प्रक्रिया र समग्र न्यायिक अभ्यासमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १२, शुक्रवार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको