काठमाडौँ, पुस १२ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन का विषयमा छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी रहेका छन्। बैठकको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिएका छन्।
स्रोतका अनुसार, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज बनाउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउन सरकारले दलहरूसँग निरन्तर वार्ता र संवाद अघि बढाइरहेको छ।
यसअघि शुक्रबार सरकारका प्रवक्ता खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग व्यक्तिगत भेटवार्ता गरी वार्ता प्रक्रिया अघि बढाएका थिए।
बैठकमा प्रतिनिधि सभा समानुपातिक निर्वाचनको तयारी, उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा र निर्वाचनका रणनीतिसम्बन्धी छलफल हुने विश्वास गरिएको छ।
राजनीतिक विश्लेषकहरूले यो बैठकलाई आगामी निर्वाचन सफल बनाउन सरकार र दलहरूबीचको सहकार्यको महत्वपूर्ण कदमको रूपमा मूल्यांकन गरेका छन्।
यसैबीच, प्रधानमन्त्री कार्कीले वार्ताका क्रममा दलहरूबीच सहमति र समन्वय आवश्यक रहेको जोड दिइरहेकी छिन्। बैठकपछि निर्वाचन तयारीलाई सहज बनाउन र लोकतान्त्रिक प्रक्रिया प्रभावकारी ढंगले सञ्चालन गर्न थप कदम चालिने अपेक्षा गरिएको छ।




