अशोक राई छाडेर उपेन्द्रसँग फर्किए रेणुसहितका नेताहरू



काठमाडौँ, पुस  १४ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरू पुनः जसपा नेपालमा फर्किए का छन्। सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएका हुन्। यस विषयमा नेता प्रदीप यादवले जानकारी दिएका छन्।

जसपा फर्किएका नेताहरूमा रेणु यादव, प्रदीप यादव लगायतका महत्वपूर्ण नेताहरू रहेका छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई स्वागत गर्दै एकताप्रतिको खुशी व्यक्त गरेका छन्। अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीभित्रको एकता र सहकार्यको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “जसपा नेपालमा फर्किएका सबै नेताहरूलाई स्वागत गर्दै आगामी निर्वाचनमा दलको संगठन मजबुत बनाउन हामी एकजुट छौँ।”

यसअघि अशोक राई नेतृत्वको जसपा छोडेर केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए। राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पार्टी छोड्ने निर्णय गरेका थिए। तर, सोमबारको घटनाले पार्टी भित्रको पुनःएकता र संगठन सुदृढीकरणको संकेत दिएको छ।

विश्लेषकहरूका अनुसार उपेन्द्र–रेणु नेतृत्वमा केन्द्रीय नेताहरूको एकताले आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो स्थिति दिलाउन सक्छ। पार्टीले आगामी समयमा संगठन विस्तार, समानुपातिक बन्दसूची तयार पार्ने प्रक्रिया र क्षेत्रीय निर्वाचनका लागि रणनीति निर्माणमा तीव्रता ल्याउने अपेक्षा गरिएको छ।

यसैबीच पार्टी कार्यकर्ता र समर्थकहरूले यस कदमलाई स्वागत गर्दै भविष्यमा राजनीतिक स्थायित्व र संगठनात्मक मजबुतीको आशा व्यक्त गरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यस प्रकारको पुनःएकता मधेश क्षेत्रको राजनीतिमा पनि महत्वपूर्ण प्रभाव पार्ने सम्भावना छ।

प्रकाशित मिति: २०८२ पुष १५, सोमवार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको