एजेन्सी, पुस १५। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी खालिदा जियाको मंगलबार बिहान ढाकास्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको बीएनपीले जनाएको छ।
पार्टीद्वारा जारी विज्ञप्तिअनुसार मंगलबार बिहान करिब ६ बजे, फज्र नमाजपछि खालिदा जियाले अन्तिम सास लिएकी हुन्। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बीएनपीले दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गर्न सबैलाई आग्रह गरेको छ।
खालिदा जियालाई गत नोभेम्बर २३ मा मुटु र फोक्सोमा संक्रमण देखिएपछि अपोलो अस्पतालमा भर्ना गरिएको थियो। त्यसयता करिब ३६ दिनदेखि उनको उपचार भइरहेको थियो। उनी लामो समयदेखि लिभर सिरोसिस, मधुमेह, गठिया, मिर्गौला, मुटु, फोक्सो तथा आँखासम्बन्धी विभिन्न दीर्घरोगबाट पीडित रहँदै आएकी थिइन्।
उनको उपचार वरिष्ठ कार्डियोलोजिस्ट शाहबुद्दीन तालुकदारको नेतृत्वमा गठित मेडिकल बोर्डको निगरानीमा हुँदै आएको थियो। उक्त बोर्डमा बंगलादेशसहित बेलायत, अमेरिका, चीन र अष्ट्रेलियाका विशेषज्ञ चिकित्सकहरू संलग्न थिए। यसै महिनाको सुरुआतमा उनलाई थप उपचारका लागि विदेश लैजाने प्रयास गरिएको थियो, तर स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले उक्त योजना अघि बढ्न सकेन।
खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्रीमध्ये एक थिइन्। उनले सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ सम्म गरी दुई कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनको निधनसँगै बंगलादेशी राजनीतिमा एउटा युगको अन्त्य भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।






