विशेष महाधिवेशन पक्षधर को दबाब बढ्दै, महामन्त्रीद्वय गगन–विश्वप्रकाश निर्णायक भूमिकामा



काठमाडौं , पुस  १५ । नेपाली कांग्रेसमा १५ औँ महाधिवेशन कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि नबढेपछि पार्टीभित्र विशेष महाधिवेशनको बहस पुनः चर्किएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि दबाब बढाएका छन्।

मंसिर १५ मा केन्द्रीय समितिले पारित गरेको कार्यतालिकाअनुसार पुस १६ गतेदेखि वडा अधिवेशन सुरु हुने भनिए पनि आवश्यक तयारी नहुँदा प्रक्रिया अन्योलमा परेको छ। निर्वाचन अधिकृत नखटाइनु, क्रियाशील सदस्यता नवीकरण र इन्ट्री नसकिनु तथा कतिपय स्थानमा सदस्यता विवाद कायमै रहनुले अधिवेशन कार्यान्वयन असम्भव देखिएको छ।

कार्यतालिकाअनुसार भोलि वडा अधिवेशन सुरु हुनुपर्ने भए पनि कांग्रेसले अहिलेसम्म कार्यतालिका संशोधन गरेको छैन। पछिल्ला दिनमा केन्द्रीय कार्यसम्पादन समिति बैठकहरू समानुपातिक उम्मेदवार टुंग्याउन केन्द्रित हुँदा महाधिवेशनबारे ठोस निर्णय हुन सकेको छैन।

नियमित महाधिवेशन पुसभित्र नहुने संकेत देखिएपछि विशेष महाधिवेशन पक्षधरहरू सक्रिय भएका छन्। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ मै विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्। विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ। हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने भएकाले पुस २८ भित्र मिति र स्थान तोक्नुपर्ने दबाब बढेको छ।

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला भने विशेष महाधिवेशनको विपक्षमा छन्। कोइराला चुनावअघि नियमित महाधिवेशन हुनुपर्ने पक्षमा छन्। महामन्त्री गगन थापाले भने चुनावअघि महाधिवेशन नभए आमचुनावमा भाग नलिने चेतावनी दिइसकेका छन्।

विशेष महाधिवेशन पक्षधर नेताहरूले महामन्त्रीद्वयलाई प्रक्रिया अघि बढाउन आग्रह गर्दै विभिन्न मोडालिटीमा छलफल गरिरहेका छन्। आवश्यक परे निर्वाचन आयोग र अदालत जाने विकल्पसमेत खुला राखिएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १६:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको