रौतहट, पुस १६ । रौतहटमा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले नेपाली सेनाले दाउरा वितरण गरेको छ।
श्री नारायण दल गणको नेतृत्वमा लेफ्टिनेन्ट आशिष् पौडेलको कमाण्डमा खटिएको टोलीले बुधबार गौर घन्टाघर, सिर्सिया, राजदेविको हजमिनिया, दुर्गा भगवती गाउँपालिकाको गङापिपरामा दाउरा वितरण गरेको हो।
श्री नारायण दल गणका प्रमुख सेनानी बिश्वास बिष्टले बताउनुभयो, “रौतहटका प्रत्येक पालिकाका मुख्य चोक तथा बजार क्षेत्रमा आगो बाल्न दाउरा वितरण गरिने छ। बढ्दो चिसो र शीतलहरका कारण नागरिकको जीवन कष्टकर बनेको छ, विशेष गरी वृद्ध, अशक्त, बिरामी र विपन्न वर्ग बढी प्रभावित छन्।”
स्थानीय सरकारको ढिलाइ र जवाफदेही नभएको अवस्थामा नेपाली सेनाको यो पहलले नागरिकलाई राहत पुर्याएको बिष्टले उल्लेख गर्नुभयो। स्थानीयवासीहरूले पनि सेनाको मानवीय कदमप्रति खुशी व्यक्त गरेका छन्।
बिष्टले थप्नुभयो, “शान्ति सुरक्षासँगै विपद् व्यवस्थापनमा जनताको जीवन रक्षा र सेवा प्रदानमा नेपाली सेना सधैं अग्रसर छ। यस प्रकारका मानवीय गतिविधिहरूले सेनाप्रति जनविश्वास अझ सुदृढ बनाउँछ।”
यसअघि पनि रौतहटका विभिन्न स्थानीय तहमा नेपाली सेनाले विपद् व्यवस्थापन र राहत वितरणमा सक्रिय भूमिका खेल्दै आएको छ। चिसो राहत अभियानले समुदायमा आपसी सहयोग र सुरक्षा भावनालाई पनि बढावा दिएको छ।
नेपाली सेनाको यो पहलले शीतलहरबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत पुर्याउने मात्र होइन, विपद् व्यवस्थापनमा सेना र स्थानीय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।




