गुल्मीमा बस–मोटरसाइकल ठक्कर : दुई जनाको मृत्यु, एक नाबालक घाइते



काठमाडौं, पुस १८ । गुल्मी — गुल्मी जिल्लाको मालिका गाउँपालिका–६ राम्चेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने एक नाबालक घाइते भएका छन्।दुर्घटना शुक्रबार बिहान करिब ८ बजे भएको हो।

लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले लु ( प ८१५) नम्बरको मोटरसाइकललाई ठक्कर दिएको वडा नम्बर–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय वसन्त अर्याल र मोटरसाइकलमा सवार ६० वर्षीया मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलमा सवार ६ वर्षीय अनुभव गिरी घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। वडाध्यक्ष भण्डारीका अनुसार दुर्घटनामा पैदल हिँडिरहेकी ४२ वर्षीया लीला अर्याल पनि बसको ठक्करबाट घाइते भएकी छन्। उनी कमलपोखरी माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका हुन्।

प्रहरीका अनुसार मोटरसाइकल पोखरा बारीबाट राम्चेतर्फ जाँदै थियो भने बस विपरीत दिशाबाट आइरहेको थियो। उक्त बस स्थानीय एक बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरूलाई वनभोजका लागि लिएर जाँदै गरेको बताइएको छ। विद्यालयबाट करिब २० मिटर अगाडि बढ्नेबित्तिकै दुर्घटना भएको जनाइएको छ।

मृतक वसन्त अर्याल अर्जै, छाप, घमिर, अमरपुर र ईस्मा क्षेत्रमा पठाओ चालकको रूपमा काम गर्दै आएका थिए। मनकला अर्याल राम्चेबाट केही तल पौवामा बस्ने अनुभव गिरीलाई लिन गएको र फर्किने क्रममा दुर्घटनामा परेका थिए।

दुर्घटनापछि बस चालक गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको उपचार भइरहेको र मृतकहरूको शव पोस्टमार्टमका लागि तम्घास पठाइएको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष १९, शुक्रवार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको