देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्नपत्र



काठमाडौं , पुस  १८ । भदौ २३–२४ गते देशभरि भएको विरोध प्रदर्शनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। आयोग स्रोतले पुष्टि गरेको छ कि दुवै नेतालाई उक्त घटनासँग सम्बन्धित प्रश्न सोधिने पत्र पठाइएको छ।

भदौ २४ गते भएको प्रदर्शनको क्रममा देशभर विभिन्न भौतिक सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। भीड नियन्त्रण बाहिर गएपछि देउवा आफ्नै बूढानिलकण्ठस्थित निवासमा सुरक्षित थिएनन् र प्रदर्शनकारीले प्रहरी छिचोल्दै उनको घरमा प्रवेश गरेका थिए। त्यही क्रममा देउवा र उनकी पत्नी आरजु राणा माथि कुटपिट भएको थियो। पछि नेपाली सेनाले दुवैको उद्धार गरेको थियो।

प्रचण्ड प्रदर्शनका बेला सिंहदरबार भित्र थिए। सेनाले उनलाई पनि सुरक्षित स्थानमा लगेको थियो। दुवै नेताका घरमा आगजनी र तोडफोड भएको थियो।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को बयान लिने तयारी गरिरहेको छ। आयोगले पत्रमार्फत बयान लिन खोज्ने योजना बनाएको भए पनि ओलीले भने आफू बयान दिन नआउने संकेत गरेका छन्। आवश्यक परे आयोगका पदाधिकारी स्वयं उपस्थित भएर बयान लिने व्यवस्था रहेको छ।

यस घटनासँग सम्बन्धित हालसम्म १५० भन्दा बढी व्यक्तिहरूको बयान र विवरण संकलन भइसकेको छ। केही दिनअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो। त्यसभन्दा अघि आइजिपी दानबहादुर कार्की, पूर्व आइजिपी चन्द्रकुबेर खापुङ, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल लगायतका बयान संकलन गरिसकेको छ।

आयोगले घटनाको पूर्ण तथ्याङ्क संकलन गरी घटनाको सत्य र जिम्मेवारी निर्धारण गर्ने प्रक्रिया अघि बढाइरहेको छ।

प्रकाशित मिति: २०८२ पुष १९, शुक्रवार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको