अमेरिकाको भेनेजुएलामा सैन्य आक्रमण, राष्ट्रपति मादुरो पक्राउ गरी न्यूयोर्क लगियो



एजेन्सी, पुस २० । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिँदै न्यूयोर्क पुर्‍याएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अमेरिकाले नै शासन सञ्चालन गर्ने बताएका छन्।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न सहरमा आक्रमण गरेको बताइएको छ। आक्रमणपश्चात् अमेरिकी सेनाको विशेष आतंकवादविरोधी इकाइ डेल्टा फोर्सले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्प प्रशासनको दाबी छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा मादुरोको तस्बिर सार्वजनिक गर्दै नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका छन्। सार्वजनिक तस्बिरमा मादुरोको हातमा हतकडी, आँखामा कालोपट्टी बाँधिएको, ग्रे रंगको ट्र्याकसुट र कानमा हेडफोन लगाएको देखिन्छ।

फ्लोरिडास्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउनेछ।”

यसैबीच, अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध मुद्दा चलाइने जनाएको छ। अमेरिकाले मादुरोमाथि लागुऔषध कारोबारलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “निकोलस मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवाद, कोकिन आयात, अवैध हतियार तथा त्यससम्बन्धी षड्यन्त्रका गम्भीर अभियोग लगाइएको छ।” उनले मादुरोले छिट्टै अमेरिकी अदालतमा न्यायको सामना गर्ने उल्लेख गरेकी छन्। यद्यपि उनकी पत्नीमाथि लगाइने आरोपबारे स्पष्ट गरिएको छैन।

अमेरिकाको उक्त आक्रमणको रूस, चीन र कोलम्बियालगायत देशहरूले कडा निन्दा गरेका छन्। रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसलाई गम्भीर चिन्ताको विषय भन्दै अन्तर्राष्ट्रिय कानुनविपरीत सशस्त्र आक्रमण भएको बताएको छ।

कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको चार्टरअनुसार एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने प्रतिक्रिया दिएको छ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसबारे सरकारलाई कुनै आधिकारिक जानकारी नआएको बताएकी छन्। उनले दुवै जीवित रहेको प्रमाण तुरुन्त सार्वजनिक गर्न माग गरेकी छन्।

रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको जानकारी दिँदै विदेशी सैन्य उपस्थितिको कडा विरोध गरेका छन्। उनले देशभर सैन्य बल परिचालन गरिएको घोषणा पनि गरेका छन्।

स्पेनी भाषामा जारी भिडियो सन्देशमा उनले यसलाई “भेनेजुएलामाथि हालसम्मकै सबैभन्दा ठूलो आक्रमण” भन्दै जनतालाई एकजुट हुन आह्वान गरे।
उनले भने, “हामीमाथि आक्रमण भएको छ, तर हामी झुक्ने छैनौं।”

प्रकाशित मिति: २०८२ पुष २०, आईतवार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको