काठमाडौं , पुस २१ । आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेलको विषयमा सहमति नजिक पुगेको छ। माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै तीन दलबीच अन्तिम चरणको छलफल भइरहेको स्रोतहरूले जनाएका छन्।
जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रियसभा निर्वाचन तथा संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत सहकार्य गर्ने विषयमा निरन्तर संवाद गरिरहेका छन्। पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टीलाई समेत चुनावी तालमेलमा सहभागी गराउने विषयमा कांग्रेस र एमाले सकारात्मक देखिएका छन्।
कांग्रेसका उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै निर्वाचनमा नेकपालाई सहभागी गराउने विषयमा लगभग सहमति भइसकेको छ। सोमबार साँझसम्म भागबन्डाको टुंगो लगाउने गरी दोस्रो तहका नेताहरू सक्रिय रहेको बुझिएको छ।
स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपाबीच तालमेल गर्ने विषयमा सहमति नजिक पुगेको छ भने तीन दलबीचको समग्र चुनावी तालमेलबारे कार्यवाहक सभापतिसहित शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल भारतको नयाँ दिल्लीमा रहेका छन्। भारत प्रस्थान गर्नु अघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब आधा घण्टा छलफल गरेका थिए। उक्त भेटमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा तालमेल तथा सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
तर नेकपाभित्र भने एमालेसँगको सहकार्यलाई लिएर असन्तुष्टि देखिएको छ। नेकपाका नेता हरिबोल गजुरेलले अहिलेको अवस्थामा एमालेसँग तालमेल वा एकता गर्नु आत्मघाती हुने बताएका छन्। उनका अनुसार देशव्यापी रूपमा नेकपाको माहौल सकारात्मक बन्दै गएको अवस्थामा यस्तो सहकार्य पार्टीका लागि घातक हुन सक्छ।
रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जा मन्त्री तथा ‘उज्यालो नेपाल’ अभियानका संरक्षक कुलमान घिसिङ एकजुट भएपछि परम्परागत दलहरू थप दबाबमा परेका छन्। यही राजनीतिक परिस्थितिका कारण कांग्रेस, एमाले र नेकपा नजिकिँदै गएको विश्लेषण गरिएको छ।




