वीरगञ्ज, पुस २१ । पर्सा जिल्ला प्रशासनले वीरगञ्ज महानगरपालिकामा धार्मिक र सामाजिक तनाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म सर्वसाधारण भेला, सभा, जुलुस र प्रदर्शनमा रोक लगाउने निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा लागू गरिएको क्षेत्रहरूमा पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट पर्दछन्। यी क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पाइने छैन।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यो कदम चालिएको जनाएको छ। आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले जारी गरेको छ।
निषेधाज्ञा जारी गर्ने निर्णय पछिल्लो समयमा धार्मिक स्थलमा आगजनी, तोडफोड र धार्मिक समुदायबीचको झडप जस्ता घटनाले उत्पन्न गरेको तनावलाई ध्यानमा राखेर लिइएको हो। आइतबार मुस्लिम समुदायले मस्जिद तोडफोड र आगजनीविरुद्ध प्रदर्शन गरेको थियो भने सोमबार बिहान हिन्दुवादी संगठनले मन्दिर तथा देविदेवता विरुद्ध अभद्र टिप्पणीप्रति विरोध प्रदर्शन गरेका थिए।
प्रशासनले दुवै समुदायबीचको विवाद समाधान गर्न वार्ता मार्फत सहकार्य गर्दै शान्ति कायम राख्ने प्रयास गरिरहेको जनाएको छ। यस क्रममा सुरक्षा निगरानी थप बलियो बनाइएको छ ताकि कुनै अप्रिय घटना नहोस् र सामाजिक शान्ति कायम रहोस्।
यस कदमले वीरगञ्जमा संवेदनशील धार्मिक र सामाजिक क्षेत्रहरूमा शान्ति, सद्भाव र आपसी समझदारी कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।




