एजेन्सी, पुस २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजुएला आक्रमण पछि भारतलाई खुला चेतावनी दिएका छन्। ट्रम्पले भारतलाई रूसी तेल खरिद सम्बन्धी मुद्दामा आफूलाई “खुश” गर्न आवश्यक रहेको र यदि प्रधानमन्त्री मोदीको सरकारले अपेक्षा अनुसार सहयोग नगरेमा भारतको इम्पोर्टमा टैरिफ वृद्धि गर्न सक्ने चेतावनी दिएका हुन ।
ट्रम्पले सोमबार सार्वजनिक सम्बोधनमा भने, “पीएम मोदी धेरै राम्रो व्यक्ति हुन्, तर मलाई अझै खुशी पार्न सकेका छैनन्। भारतले मलाई खुश गर्न आवश्यक छ, नत्र हामी छिटै टैरिफ बढाउनेछौं।” उनले यसैगरी भारत र रूसबीचको तेल व्यापारमा आफ्नो प्रशासनको असहमति व्यक्त गरेका थिए।
सन् २०२५ को अगष्टमा ट्रम्पले भारतमा ५० प्रतिशत टैरिफ लागू गरेका थिए। यस कदमको मुख्य कारण भारतको रूससँगको तेल आयात थियो। अमेरिकी प्रशासनले बारम्बार भारतले रूसबाट तेल खरिद गरी पुनः बेचिरहेको र यसबाट हुने आम्दानी यूक्रेन युद्धमा प्रयोग हुन सक्ने आरोप लगाएको थियो। ट्रम्पको यो निर्णय दुई देशबीच व्यापार सम्झौता लामो समय रोकिएको एक कारण पनि मानिन्छ।
रूस भारतलाई तेल आपूर्ति गर्ने सबैभन्दा ठूलो देश हो। ट्रम्पले भारतलाई अमेरिकी बजार खुलाउने र डेरी तथा कृषि क्षेत्रका व्यापारमा प्रवेश दिने दबाब दिएका थिए। तर भारतले आफ्नो निर्णयमा अडिग रहे।
विशेषज्ञहरूले ट्रम्पको भारतमा टैरिफ वृद्धि गर्ने चेतावनीलाई रूसमाथि दबाब सिर्जना गर्ने रणनीति र तेल व्यापार नियन्त्रणको प्रयासको रूपमा विश्लेषण गरेका छन्। वेनेजुएलामा राष्ट्रपति मादुरोलाई पक्राउ गरेर अमेरिका ल्याउने र तेल क्षेत्रमा आफ्नो दबाब कायम गर्ने ट्रंपको कदमले विश्वव्यापी ऊर्जा राजनीति अझै तनावपूर्ण बनाएको छ।
भारतले हालसम्म औपचारिक प्रतिक्रिया नदिँदा, ट्रंपको चेतावनीलाई अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा सुरक्षा क्षेत्रमा थप तनावको संकेतका रूपमा हेरिएको छ।






