कांग्रेस–एमाले नजिकिएपछि सरकार र विदेशी शक्तिहरू चुनाव सार्ने षड्यन्त्रमा लागे : केपी ओली



काठमाडौं , पुस  २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच नजिकिँदो राजनीतिक सहकार्यबाट आतिएका सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा जारी सचिवालय बैठकमा ओलीले यस्तो ब्रिफिङ गरेका हुन् ।

बैठक स्रोतका अनुसार अध्यक्ष ओलीले देशमा तत्काल निर्वाचन हुने वातावरण सरकार आफैंले बिगारिरहेको दाबी गरे । ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैं निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेका छन्,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

ओलीले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संवैधानिक निकायमाथि दबाब सिर्जना भइरहेको आरोप पनि लगाए । उनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्की दिने, संसद् पुनर्स्थापना हुन नदिने वातावरण बनाउने र न्यायिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गरे ।

त्यसैगरी, ओलीले वर्तमान राजनीतिक अवस्था देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र लोकतान्त्रिक प्रणालीका लागि चुनौतीपूर्ण बन्दै गएको बताए । ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने विषय झन् जटिल बन्दै गएको छ,’ उनले बैठकमा भनेको स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष ओलीले पार्टी पंक्तिलाई सतर्क रहन आग्रह गर्दै लोकतन्त्र, संविधान र निर्वाचन प्रक्रियाको रक्षा एमालेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे । उनले कुनै पनि बहानामा निर्वाचन सार्ने वा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी रणनीति, सरकारको गतिविधि र पार्टीको भूमिकाबारे विस्तृत छलफल भइरहेको बताइएको छ । एमालेले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा लिएको र आवश्यक परे जनस्तरबाट प्रतिवाद गर्ने तयारीमा रहेको संकेत ओलीको ब्रिफिङबाट देखिएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: २०८२ पुष २३, मंगलवार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको