काठमाडौं, पुस २१ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनको पक्षमा मधेश कांग्रेसका नेताहरू खुल्न थालेका छन्। मधेश प्रदेशमा शेरबहादुर देउवा र शेखर कोइराला समूहको नाममा विभाजित रहेका कांग्रेस नेताहरू पछिल्लो समय महामन्त्रीद्वयको नेतृत्वमा अघि सारिएको विशेष महाधिवेशनको पक्षमा उभिन थालेका हुन्।
सामाजिक सञ्जालमार्फत एकपछि अर्को गर्दै कांग्रेस नेताहरू विशेष महाधिवेशनको समर्थनमा सार्वजनिक भएपछि मधेश प्रदेशको कांग्रेस राजनीतिमा उल्लेखनीय परिवर्तन आउने संकेत देखिएको छ।
कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रकुमार सिंहका अनुसार सोमबारसम्म मधेश प्रदेशका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलिसकेका छन्। उनका अनुसार कुल करिब ८ सय महाधिवेशन प्रतिनिधिमध्ये ४४० जनाभन्दा बढीले हस्ताक्षर गरिसकेका छन्। “हस्ताक्षर गर्ने संख्या अझै बढ्दो क्रममा छ। ६० देखि ६५ प्रतिशतसम्म पुर्याउने गरी काम भइरहेको छ,” सिंहले दाबी गरे।
१४औँ महाधिवेशनका बेला मधेश प्रदेशमा देउवा पक्षको प्रभाव करिब ६० प्रतिशत रहे पनि अहिले अवस्था फेरिएको नेताहरूको दाबी छ। यद्यपि, मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव भने हालसम्म संस्थापन पक्षमै रहेका छन्। तर प्रदेश उपसभापति वीरेन्द्रकुमार सिंह (सर्लाही), अर्का उपसभापति चन्द्रशेखर यादव (बारा), प्रदेश महामन्त्री उपेन्द्र यादव (सिरहा), प्रदेश कोषाध्यक्ष प्रदीप यादव (धनुषा) तथा जीवनाथ चौधरी र दिनेश प्रसैला (धनुषा) लगायतका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।
त्यसैगरी, सप्तरीका जिल्ला सभापति रामदेव साह र उपसभापति राजकुमार यादव, सिरहाका केन्द्रीय सदस्य रामसुन्दर चौधरी, महोत्तरीका बजरंग नेपाली र विनोद यादव, बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद क्षेत्री, सर्लाहीका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहसहितका नेताहरू पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
यता, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरेका छन्। “नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता छैन,” उनले बताए। उनका अनुसार २६–२७ गते हुने भेलाको उपस्थितिले नै वास्तविक शक्ति सन्तुलन प्रस्ट पार्नेछ।
मधेश प्रदेशमा देखिएको यो राजनीतिक पुनर्संरचनाले नेपाली कांग्रेसभित्रको आगामी नेतृत्व समीकरणलाई थप चासोपूर्ण बनाएको छ।






