बंगलादेशमा फेरि एक हिन्दू व्यक्तिको हत्या, २४ घण्टामै दोस्रो घटना



एजेन्सी, पुस २२ । बंगलादेशमा एक हिन्दू व्यक्तिको पुनः हत्या भएको छ। पछिल्लो २४ घण्टाभित्र हिन्दू समुदायलाई लक्षित गरी घटेको यो दोस्रो हिंसात्मक घटना हो।

बंगलादेशको नरसिङदी जिल्लामा किराना पसल सञ्चालन गर्दै आएका मोनी चक्रवर्तीमाथि सोमबार राति करिब १० बजे धारिलो हतियारले आक्रमण गरिएको थियो। गम्भीर घाइते भएका चक्रवर्तीको उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाले त्यहाँको हिन्दू समुदायमा त्रास फैलिएको छ।

यसअघि जनवरी ३ मा ५० वर्षीय खोकन चन्द्र दासमाथि आक्रमण गरी कुटपिट तथा आगो लगाइएपछि उनको मृत्यु भएको थियो। त्यस्तै, डिसेम्बर २४ मा राजबाडी जिल्लाको पाङ्शा उपजिलामा अमृत मण्डल नामक अर्को हिन्दू व्यक्तिलाई कथित उगाहीको आरोप लगाउँदै कुटपिट गरी हत्या गरिएको थियो।

यसै क्रममा डिसेम्बर १८ मा मैमनसिंह शहरमा २५ वर्षीय दिपु चन्द्र दासलाई ईशनिन्दाको आरोप लगाउँदै भीडले कुटपिट गरी हत्या गरेको र शवमा आगो लगाइएको घटनाले समेत व्यापक आलोचना जन्माएको थियो।

अर्को घटनामा डिसेम्बर २३ मा चटगांव नजिकको राउजान क्षेत्रमा कतरमा काम गर्ने प्रवासी मजदुर शुख शिल र अनिल शिलको घरमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका थिए। सौभाग्यवश, घरमा रहेका व्यक्ति सुरक्षित रहन सफल भएका थिए।

लगातार भइरहेका यस्ता घटनाप्रति अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले चिन्ता व्यक्त गर्दै बंगलादेश सरकारसँग अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ पुष २२, मंगलवार ०८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको