भेनेजुएला मा अमेरिकी कारबाहीपछि चरम दमन, सशस्त्र अर्धसैनिक समूह परिचालन



काठमाडौं ,पुस  २२ । अमेरिकाले भेनेजुएला का राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि भेनेजुएला सरकारले देशभित्र कडा दमन अभियान सुरु गरेको छ। ‘द फाइनान्सियल टाइम्स’का अनुसार राजधानी क्याराकासका सडकहरूमा ‘कोलेक्टिभोस’ नामक सशस्त्र अर्धसैनिक समूह परिचालन गरिएको छ र मदुरोको पतनप्रति समर्थन देखाउने गतिविधि दबाउन व्यापक उपायहरू अपनाइएको छ।

यसैबीच पत्रकारहरू ठूलो संख्यामा नियन्त्रणमा लिइएका छन्। अहिलेसम्म १४ जना पत्रकार पक्राउ परेका छन्, जसमा ११ जना विदेशी सञ्चार माध्यमसँग आबद्ध छन्। उनीहरूलाई केही घन्टासम्म नियन्त्रणमा राखेर रिहा गरिएको थियो। कोलम्बियाली टेलिभिजन नेटवर्क काराकोलका संवाददाता कार्लोस बारागान र उनको टोलीलाई पनि दुई घन्टा सोधपुछ गरिएको थियो।

अमेरिकाको आकस्मिक सैन्य कारबाहीपछि सोमबार भेनेजुएलामा आपतकालीन स्थिति घोषणा गरिएको थियो। सरकारी आदेशअनुसार अमेरिकी कारबाहीको समर्थनमा कुनै पनि सार्वजनिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। नागरिकको मोबाइल जाँच गरेर विरोधजन्य सामग्री छ कि छैन हेर्ने काम भइरहेको छ।

कोलेक्टिभोस मुख्यतः गृहमन्त्री डियोस्दादो काबेलोको नियन्त्रणमा रहेका छन्, जो मदुरो शासनका कट्टर समर्थक हुन्। विपक्षी नेतृ मारिया कोरिना माचाडोले यस दमनलाई ‘अत्यन्त चिन्ताजनक’ भन्दै अन्तर्राष्ट्रिय समुदायले निगरानी गर्नुपर्ने बताएकी छन्।

पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो पकड बलियो बनाउँदै शपथ ग्रहण गरेपछि राजधानी वरिपरि सुरक्षा चौकीहरू स्थापना गरिएको छ। सामाजिक सञ्जालमा पोस्ट भएका भिडिओअनुसार शपथ समारोहमा रूस, चीन र इरानका राजदूत उपस्थित थिए।

मदुरोको नियन्त्रणमा रहँदा भेनेजुएला विरोधी गतिविधि र प्रदर्शनहरू हिंसात्मक रूपमा दबाइन्थे। मदुरोको पक्राउपछि पूर्वी क्याराकासका सडकहरू सुनसान देखिएका छन्। स्थानीय मानवअधिकार संस्थाका अनुसार देशमा हाल ८६३ जना राजनीतिक बन्दी रहेका छन्।

प्रकाशित मिति: २०८२ पुष २३, मंगलवार १३:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको