मादुरो विरोधी नेतृ मचाडो वेनेजुएला फर्किने, चुनावअघि राखिन् कडा शर्त



एजेन्सी, पुस २३। वेनेजुएलाकी प्रमुख विपक्षी एवं मादुरो विरोधी नेतृ मारिया कोरिना मचाडो ले राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएपछि स्वदेश फर्किने घोषणा गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग तीव्र बनाएकी छन्। मचाडोले आफू नेतृत्वको आन्दोलन निर्वाचन जित्न पूर्ण रूपमा तयार रहेको दाबी गर्दै छिट्टै वेनेजुएला फर्किने बताएकी छन्।

रॉयटर का अनुसार फक्स न्युज लाई दिएको अन्तर्वार्तामा मचाडोले सन् २०२४ को निर्वाचनमा विपक्षले व्यापक जनसमर्थन पाएको तर धाँधलीका कारण जित खोसिएको आरोप लगाइन्। निष्पक्ष चुनाव भए विपक्षलाई ९० प्रतिशतभन्दा बढी मत प्राप्त हुने उनको दाबी छ।

मचाडो नेतृत्वको आन्दोलन ‘भेन्ते वेनेजुएला’ ले करिब ९०० राजनीतिक बन्दीको तत्काल रिहाइलाई लोकतन्त्र पुनःस्थापनाको पहिलो शर्तका रूपमा अघि सारेको छ। यद्यपि, ट्रम्प प्रशासनले हाल मादुरोकी सहयोगी तथा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज सँग काम गर्ने संकेत दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्था नस्थिर रहँदा तत्काल चुनाव सम्भव नरहेको टिप्पणी गरेका छन्।

अमेरिकी सैन्य कारबाहीप्रति चीनको आपत्ति

एएनआइ का अनुसार वेनेजुएलाको राजधानी काराकास मा अमेरिकी सैन्य कारबाही भएको विषयमा चीनले कडा विरोध जनाएको छ। बेइजिङले यस्तो हस्तक्षेप अन्तर्राष्ट्रिय कानुनविरुद्ध भएको भन्दै कुनै पनि देश “दुनियाँको दरोगा वा न्यायाधीश” बन्न नपाउने स्पष्ट पारेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ ले संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न सबै देशलाई आग्रह गरिन्। ठूलो शक्तिले जिम्मेवार व्यवहार देखाउनुपर्ने उनको भनाइ छ।

रूस, कोलम्बिया र संयुक्त राष्ट्रको प्रतिक्रिया

रूसको विदेश मन्त्रालयले डेल्सी रोड्रिगेज लाई अन्तरिम राष्ट्रपतिको रूपमा स्वागत गर्दै वेनेजुएलाले आफ्नो भविष्य आफैं तय गर्न पाउने अधिकार रहेको जनाएको छ।

कोलम्बियाकी विदेश मन्त्री रोजा विलाविसेन्सियो ले सम्भावित अमेरिकी आक्रमणविरुद्ध संप्रभुता र क्षेत्रीय अखण्डता जोगाउन सेना तयार रहेको बताइन्।

संयुक्त राष्ट्र मानवअधिकार कार्यालय ले अमेरिकी हस्तक्षेपले विश्व झन् असुरक्षित बनेको टिप्पणी गर्दै यो कारबाही अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको जनाएको छ। यूएन प्रवक्ता रविना शमदासानी ले वेनेजुएलाको भविष्य त्यहाँका जनताले नै तय गर्नुपर्नेमा जोड दिइन्।

ट्रम्प नीतिप्रति आलोचना

अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन ले वेनेजुएला सम्बन्धी ट्रम्प प्रशासनको नीति विरोधाभासी रहेको भन्दै आलोचना गरेका छन्। एकातिर लोकतान्त्रिक विपक्षी नेतृ मचाडोमाथि आक्रमण, अर्कोतिर मादुरो निकट नेतासँग सहकार्यको संकेतले अमेरिकी नीतिको विश्वसनीयता कमजोर बनेको उनको भनाइ छ।

प्रकाशित मिति: २०८२ पुष २३, बुधबार ०७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको