अमेरिकाले ग्रीनल्यान्डमाथि कब्जा गरे नाटोको अन्त्य हुन्छ : डेनमार्ककी प्रधानमन्त्रीको खुला चेतावनी

अमेरिकाले ग्रीनल्यान्डमाथि


एजेन्सी, पुस २३ । ग्रीनल्यान्डलाई लिएर अमेरिका र युरोपबीच तनाव चुलिँदै गएको छ। डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसन ले अमेरिकाले ग्रीनल्यान्डमाथि कब्जा जमाए नाटो सैन्य गठबन्धनको अन्त्य हुने कडा चेतावनी दिएकी छन्।

प्रधानमन्त्री फ्रेडरिकसनको प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले रणनीतिक तथा खनिज सम्पदाले भरिपूर्ण आर्कटिक द्वीप ग्रीनल्यान्डलाई २० दिनभित्र अमेरिकी नियन्त्रणमा ल्याउने अभिव्यक्ति दिएपछि आएको हो।

ट्रम्पले ग्रीनल्यान्डको सुरक्षाका लागि डेनमार्कले गरिरहेका प्रयासमाथि व्यंग्य गरेपछि युरोपभर असन्तोष थप बढेको छ। फ्रेडरिकसनको चेतावनीपछि फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र बेलायतसहितका युरोपेली मुलुकहरूले डेनमार्क र ग्रीनल्यान्डको संप्रभुताको समर्थन गरेका छन्।

‘नाटो सदस्य देशमाथि आक्रमण स्वीकार्य छैन’ डेनमार्कको सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री फ्रेडरिकसनले भनिन्, “यदि अमेरिका कुनै अर्को नाटो सदस्य देशमाथि आक्रमण गर्छ भने सबै कुरा रोकिन्छ। त्यसमा नाटोको अन्त्य पनि पर्छ।”

उनले ट्रम्पका अभिव्यक्तिलाई हल्का रूपमा नलिन चेतावनी दिँदै ग्रीनल्यान्ड र डेनमार्कलाई धम्की दिनु अस्वीकार्य रहेको स्पष्ट पारिन्।

ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सन ले पनि ट्रम्पको टिप्पणीप्रति आपत्ति जनाउँदै ग्रीनल्यान्डलाई वेनेजुएलासँग तुलना गर्न नमिल्ने बताए। उनले जनतालाई संयमित र एकजुट रहन आग्रह गर्दै अमेरिका ग्रीनल्यान्डमा सजिलै कब्जा जमाउन नसक्ने दाबी गरे।

युरोपमा बढ्दो चिन्ता

हालै वेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि ट्रम्पको विश्वव्यापी रणनीतिलाई लिएर युरोपमा चिन्ता बढेको छ। निकोलस मादुरोलाई असाधारण सैन्य अपरेशनमार्फत अमेरिका ल्याइएपछि ग्रीनल्यान्ड अर्को लक्ष्य हुन सक्ने आशंका बलियो बनेको छ।

युरोपेली नेताहरूले साझा धारणा सार्वजनिक गर्दै ग्रीनल्यान्डको भविष्य डेनमार्क र त्यहाँका जनताले नै तय गर्नुपर्ने बताएका छन्। नाटोले पनि आर्कटिक क्षेत्रको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको र सहकार्यबाट मात्रै त्यसलाई मजबुत बनाउन सकिने स्पष्ट पारेको छ।

ग्रीनल्यान्डमा पहिलेदेखि अमेरिकी उपस्थिति

अमेरिकी रक्षा मन्त्रालयले सन् १९५१ देखि ग्रीनल्यान्डको उत्तर–पश्चिम भागमा रहेको पिटफिक स्पेस बेस सञ्चालन गर्दै आएको छ। सो बेसबाट नाटोका लागि मिसाइल चेतावनी, मिसाइल डिफेन्स तथा अन्तरिक्ष निगरानी कार्य हुँदै आएका छन्।

डेनमार्क अमेरिकाको ठूलो हतियार खरिदकर्ता राष्ट्र हो। उसले हालै ँ(घछ लडाकु विमान पनि खरिद गरेको छ। साथै, डेनमार्कको संसदले आफ्नो भूमिमा अमेरिकी सैन्य ठेगानालाई थप पहुँच दिने विधेयकसमेत पारित गरिसकेको छ।

प्रकाशित मिति: २०८२ पुष २३, बुधबार ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको