काठमाडौँ, पुस २४ । साविक नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहवर अन्सारीले पार्टी परित्याग गरेका छन्। अन्सारीले बिहीबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँँडा पुगेर आफ्नो राजीनामा बुझाउँदै औपचारिक रूपमा पार्टीबाट विदा लिएका हुन्।
उनले बुझाएको राजीनामामा प्रचण्डले मधेस प्रदेशमा गाएको एउटा सायरी उद्धृत गर्दै अब त्यो गीत प्रचण्डको स्मृतिमा मात्रै बाँकी रहेको उल्लेख गरेका छन्। अन्सारीले आफ्नो राजीनामामा लेखेका छन्, “साहस, इमान, र जोखिम — यी तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु।”
राजीनामापत्रमार्फत अन्सारीले पार्टी नेतृत्वप्रति आफ्नो असन्तुष्टि स्पष्ट गर्दै मधेस प्रदेशका जनताको हित र समाजवादी क्रान्ति प्रवद्र्धनमा आफ्नो प्रतिबद्धता जारी रहने बताए।
राजनैतिक विश्लेषकहरूले अन्सारीको कदमलाई पार्टीभित्रको नेतृत्व र नीति विरोधका कारण भएको आन्तरिक विवादको संकेतका रूपमा व्याख्या गरेका छन्। अन्सारीले पार्टीबाट बाहिरिएसँगै मधेस प्रदेशको राजनीतिक समीकरणमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।
यसअघि पनि नेकपा माओवादी केन्द्रमा केही नेताहरूले पार्टी नेतृत्वसँग असहमति जनाउँदै राजीनामा दिएका थिए, जसले पार्टीभित्रको आन्तरिक विवादलाई प्रकाशमा ल्याएको थियो। अन्सारीको निर्णयले पार्टी नेतृत्वलाई पुनः संगठनात्मक मजबुती र स्थानीय तहमा जनमत कायम राख्न चुनौती दिने देखिन्छ।
यसैबीच, राजनीतिक विश्लेषकहरूले अन्सारी जस्ता नेता पार्टीबाट बाहिरिँदा मधेस प्रदेशमा नेतृत्व र सदस्यतामा वैकल्पिक गठबन्धन र नयाँ राजनीति निर्माण हुने सम्भावनालाई पनि संकेत गरेका छन्।






