काठमाडौं ,पुस २२ । नेपाली कांग्रेसभित्र निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने मागसहित सक्रिय रहेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले पार्टीका इतर समूहका नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ । पार्टीभित्र महाधिवेशनको समय र प्रक्रियालाई लिएर देखिएको मतभेद समाधान गर्ने उद्देश्यले उक्त छलफल गरिएको नेताहरूले बताएका छन् ।
पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा भेट गरेको हो । बिहान साढे ८ बजेबाट सुरु भएको छलफल करिब दुई घण्टासम्म चलेको थियो ।
छलफलपछि केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादलाई व्यवस्थापन गर्न मध्यमार्गी निकास खोज्ने विषयमा छलफल भएको जानकारी दिए । ‘विशेष महाधिवेशन गर्ने र नगर्ने भन्ने विषयमा देखिएको टसललाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे मध्यमार्गी बाटो खोज्ने प्रयास भइरहेको छ,’ उनले भने ।
उनका अनुसार विवाद समाधानका लागि विभिन्न मोडालिटीहरूबारे छलफल भइरहेको छ । यद्यपि, ती मोडालिटीबारे अहिले नै विस्तृत रूपमा सार्वजनिक गर्न उपयुक्त नभएको उनको भनाइ छ । ‘दुई–तीनवटा मोडालिटी आएका छन् । कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफलमै छौं,’ शेर्पाले बताए ।
मोडालिटी तयार भएपछि पार्टी सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू तथा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहसँग समेत छलफल गरेर साझा निष्कर्षमा पुग्ने प्रयास गरिने उनले बताए ।
यसअघि उक्त २५ सदस्यीय समूहले १८ पुसमा सभापति शेरबहादुर देउवासँग भेट गरेको थियो । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल भएको थियो । १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला यो समूह निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा उभिँदै आएको छ ।






