शङ्खरापुर बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो, २८ जना घाइते



काठमाडौं , पुस २ ४ । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ साँखुस्थित जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटना मा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बुधबार घटनास्थलमै चार जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भइसकेको छ । मृतकमा नेपालगञ्जको कोहलपुर नगरपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बूढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता रहेका छन् ।

त्यसैगरी पाँचथर घर भई हाल गोठाटार बस्दै आएका अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौं जोरपाटीका ६० वर्षीय अर्जुन लामिछानेको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवास्थित सडक खण्डमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना सामान्य उपचारपछि घर फर्किसकेका छन् । केही घाइतेको अवस्था मध्यम रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र उद्धार टोलीले घाइतेहरूको तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए । दुर्घटनाले शङ्खरापुर क्षेत्रको सडक सुरक्षामाथि फेरि प्रश्न उठाएको छ । स्थानीयले सो सडक खण्डमा सवारी साधनको गति नियन्त्रण र सुरक्षाका थप उपाय अवलम्बन गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २०८२ पुष २५, बिहिवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको