कार्यवाहक सभापति ले नेताहरू सँगै राखेर गर्न खोजेको पत्रकार सम्मेलन स्थगित



काठमाडौं, पुस  २५ । नेपाली कांग्रेसले आज आयोजना गर्न लागेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता डा. शेखर कोइरालासहित पार्टीका केन्द्रीय नेताहरूलाई एकै स्थानमा राखेर सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए।

तर, पार्टीभित्र देखिएको आन्तरिक असहमति र राजनीतिक तनावका बीच उक्त पत्रकार सम्मेलन स्थगित गरिएको हो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका हुन्। विज्ञप्तिमा सम्मेलन स्थगित गर्नुको स्पष्ट कारण भने उल्लेख गरिएको छैन।

पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला पत्रकार सम्मेलन स्थगित गरिएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्कासहित अधिकांश संस्थापन पक्षको असहमतिकै बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्।

संस्थापन पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै आएको छ। यसै सन्दर्भमा हिजो संस्थापन पक्षले औपचारिक रूपमा हस्ताक्षर फिर्ता लिन आग्रह गरेपछि महामन्त्री गगन थापाले त्यसको सार्वजनिक रूपमा विरोध गरेका थिए।

पार्टीभित्र विशेष महाधिवेशन आवश्यक छ कि छैन भन्ने विषयमा तीव्र मतभेद देखिँदै आएको छ। एक पक्षले आगामी निर्वाचनलाई ध्यानमा राख्दै आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरिरहेको छ भने अर्को पक्षले यसले पार्टीलाई थप विभाजनतर्फ लैजाने तर्क अघि सार्दै आएको छ।

यही आन्तरिक रस्साकस्सीका बीच कार्यवाहक सभापतिले आयोजना गर्न लागेको पत्रकार सम्मेलन स्थगित हुनुले कांग्रेसभित्रको असमझदारी अझै गहिरिएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ पुष २६, शुक्रवार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको