विराटनगर, जेठ १३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका पछिल्ला अभिब्यक्तीहरू निरंकुशताको सुरुवात भएको बताएका छन्।
विराटनगरमा मंगलबार आयोजित गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेसनको लैंगिक हिंसा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीविरुद्ध दिएको अभिब्यक्तीप्रति असन्तुष्टि ब्यक्त गरे। उनले भने, ‘जेठ १५ गते गर्ने भनेको आन्दोलनको विषयमा एमालेले भनेको कुरा निरंकुशताको सुरुवात हो। अझैपनि हाम्रा नेतृत्वले बुझ्न सक्नु भएन हामी अझ डुब्दै जानेछौँ। हामीहरुले सम्झाउने हो र? नेतृत्वले सम्हाल्ने हो। सम्हाल्नूस्।’
कार्यक्रममा नेता कोइरालाले मुलुकमा भ्रष्टाचार, दण्डहिनता, आर्थिक अवस्था र रोजगारीका अवसरहरु सृजना गर्न नसके समस्यामा पर्ने बताए। मुलुकलाई जोगाउने दायित्व नेपालीकै भएको बताउँदै उनले भने,’मुलुकलाई जोगाउने हामीले नै हो। मुलुकलाई विश्व बैंक, एशियाली विकास बैंकले जोगाउँदैन। यसलाई जोगाउनु हामीले नै हो।’
त्यसैगरी, उनले सोमबार बुढानिलकण्ठमा सम्पन्न कार्यसमिति बैठकबारे प्रस्टाउदै भने, ‘मैले सोचेको थिए। राजावादीको १५ गतेको आन्दोलनको विषयमा केपी ओलीले दिनु भएको काठमाडौँलाई एमालेकरण गर्ने सन्दर्भमा छलफल होला भन्ने थियो। मेरो बारेमा भएछ। मलाई खुशी लागेको छ। हाम्रो नैतिकता, संस्कार कहाँ पुगिसकेको छ। १५ गतेलाई लिएर एमालेले जुन कुरा भनेको छ, त्यो निरंकुशताको सुरुवात हो भनेर भन्न चाहान्छु’ उनले भने।
त्यसैगरी, कार्यक्रममा नेता कोइरालाले श्रम आयोग बनाउन नेताहरु उदासिन रहेको बताए। ट्रेड युनियनका अधिकारका कुराहरु खोसिनुपर्छ भन्नेतर्फ मुलुक लागि रहेको उनको भनाई छ। निजामती कर्मचारी, शिक्षक, श्रम आयोगलगायतका विषयमा ट्रेड युनियनहरु गम्भीर भएर लाग्नुपर्ने आवश्यक्ता रहेको उनको भनाई छ।






