लुम्बिनीका सांसद सन्तोष पाण्डेयलाई जसपा नेपालले सोध्यो स्पष्टीकरण



जनकपुरधाम, भदौ २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयसँग स्पष्टीकरण माग गरेको छ। पार्टीको निर्णयविपरीत प्रदेश सरकारको विश्वासको मतको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले पाण्डेयलाई स्पष्टीकरण सोधेको हो।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित पाण्डेयलाई जसपा नेपालको केन्द्रीय कार्यालयले पत्र पठाउँदै सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री  चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। त्यसअघि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई पनि सोहीअनुसार मतदान गर्न निर्देशन दिएको थियो।

तर, विश्वासको मतसम्बन्धी मतदानका क्रममा पाण्डेयले सरकारको पक्षमा मतदान गरेको भन्दै पार्टीले स्पष्टीकरण मागेको हो। केन्द्रीय कार्यालयले पाण्डेयको कदम पार्टीको नीति, निर्णय र निर्देशनविपरीत भएको जनाएको छ।

जसपा नेपालले पाण्डेयसँग पार्टीको निर्देशन हुँदाहुँदै सरकारको पक्षमा मतदान गर्नुको कारण, पार्टीको निर्णयविपरीत मतदान गर्नु अनुशासन उल्लंघन भए वा नभएको तथा पार्टी विधानअनुसार आफूलाई कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा स्पष्ट धारणा माग गरेको छ।

जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको पत्रमा तोकिएको समयभित्र स्पष्टीकरण नदिए वा प्राप्त जवाफ चित्तबुझ्दो नभए पार्टी विधान र प्रचलित निर्णयअनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

पाण्डेयसँग स्पष्टीकरण मागिएसँगै लुम्बिनी प्रदेशमा सरकारलाई समर्थन र विश्वासको मत दिने विषयमा जसपा नेपालभित्र देखिएको मतभेद औपचारिक विवादका रूपमा सतहमा आएको छ।

अब पाण्डेयले पार्टीलाई दिने जवाफका आधारमा जसपा नेपालले थप राजनीतिक तथा संगठनात्मक कदम चाल्ने देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको