काठमाडौं, पुस २९। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच आज वार्ता हुने भएको छ। विशेष महाधिवेशन अघि बढाइरहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा वार्ता हुन लागेको हो।
आज हुने वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुने बताइएको छ। यस्तै, संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन्।
यसअघि विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरूलाई विशेषमहाधिवेशनमा उपस्थित हुन आग्रह गरे पनि उनीहरू भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहभागी भएका थिएनन्। सभापति देउवाले विशेषमहाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थमार्फत् दिँदै आएको विशेष पक्षको दाबी छ।
कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति तथा नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै दबाब दिइरहेका छन्। संस्थापन पक्षले मागलाई बेवास्ता गरे आजैदेखि जारी विशेष महाधिवेशनबाट निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी विशेष पक्षले दिएको छ।
आज हुने वार्ताको समय र स्थान भने औपचारिक रूपमा तय भइसकेको छैन। वार्तापछि विशेष महाधिवेशनको भावी कार्यदिशा तय हुने नेताहरूले बताएका छन्।




