एजेन्सी, पुस २९ । ईरानमा जारी हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ६४८ जनाको ज्यान गएको छ भने १० हजारभन्दा बढीलाई पक्राउ गरिएको छ। अमेरिकी तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
नर्वेस्थित गैरसरकारी संस्था ईरान मानवअधिकारका अनुसार हिंसामा परेर ज्यान गुमाउनेमध्ये ९ जना नाबालिग समेत रहेका छन्। हजारौं प्रदर्शनकारी घाइते भएको जनाइएको छ। मानवअधिकार संस्थाहरूले अवस्था गम्भीर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
हिंसा नियन्त्रणका लागि ईरानी सरकारले देशभर इन्टरनेट सेवा र फोन कलमा कडाइ गरेको छ। इन्टरनेट अवरुद्ध गरिएकाले वास्तविक क्षतिको पूर्ण विवरण आउन कठिन भइरहेको मानवअधिकारकर्मीहरूको भनाइ छ। यद्यपि, ईरानी सरकारले मृतक र घाइतेको आधिकारिक विवरण भने सार्वजनिक गरेको छैन।
मानवअधिकार संस्थाहरूले हालको अवस्थालाई ध्यानमा राख्दै मृतक संख्या अझै धेरै हुन सक्ने चेतावनी दिएका छन्। प्रदर्शनकारीहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले सक्रिय भूमिका खेल्नुपर्ने उनीहरूको आग्रह छ।
ईरानका तेहरानसहित विभिन्न सहरमा अझै पनि प्रदर्शन जारी रहेको र स्थिति तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




