एक महिनामा काठमाडौँबाट २४१ जना हराए, १४२३ वटा ठाडो उजुरी दर्ता



काठमाडौँ, माघ ३ । एक महिनाको अवधिमा काठमाडौँबाट २४१ जना मानिस हराए को निवेदन प्रहरीमा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार सार्वजनिक गरेको पौष महिनाको मासिक प्रगति विवरण अनुसार राजधानीमा हराउने, उजुरी र अपराधका घटना उल्लेखनीय रूपमा देखिएका छन्।

प्रहरीका अनुसार पौष महिनामा हराएका २४१ जनामध्ये ७३ महिला, ८१ पुरुष, २६ बालक र ६१ बालिका रहेका छन्। हराएकामध्ये हालसम्म १४८ जना फेला परेका छन्, जसमा ३८ महिला, ४७ पुरुष, १७ बालक र ४६ बालिका रहेका छन्। बाँकी ठूलो संख्यामा व्यक्तिहरू अझै सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ।

यसै अवधिमा जिल्ला प्रहरी परिसर काठमाडौँमा १४२३ वटा ठाडो उजुरी दर्ता भएका छन्। तीमध्ये १०५५ वटा उजुरी मिलापत्र तथा फछ्र्यौट गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीमा आएका २३३ उजुरीमध्ये १२० वटा समाधान भएका छन्।

शान्ति सुरक्षा र अपराध नियन्त्रणतर्फ पौष महिनामा काठमाडौँमा ९६२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ३५ वटा जघन्य तथा गम्भीर अपराध, २८ वटा महिला तथा बालबालिकासम्बन्धी, र ४८४ वटा आर्थिक अपराधका मुद्दा रहेका छन्।

मुद्दाका सिलसिलामा प्रहरीले एक महिनामा ३३९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३०० पुरुष र ३९ महिला रहेका छन्। सबैभन्दा बढी पक्राउ अभद्र व्यवहार र बैंकिङ कसुरका घटनामा भएको प्रहरीले जनाएको छ।

पछिल्लो समय साइबर अपराध र ठगीका घटनामा तीव्र वृद्धि देखिएको छ। पौष महिनामा मात्रै साइबर अपराध तथा ठगीसम्बन्धी १९१ वटा निवेदन परेका छन्। अनलाइन सपिङ, वैदेशिक रोजगार, बैंक खातामा अनधिकृत पहुँच तथा सामाजिक सञ्जालको दुरुपयोगमार्फत ३ करोड ६६ लाख ८८ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीले नागरिकलाई सतर्क रहन, सूचना प्रविधिको सुरक्षित प्रयोग गर्न र कुनै शंका लागेमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ माघ ४, शनिवार १६:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको