सप्तरी, माघ ४ । सप्तरी प्रहरीले एक महिनाको अवधीमा दर्ता भएका विभिन्न प्रकृतीका ७३ मुद्दाका आरोपी मध्ये ३५ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको २०८२ पुस महिनाको प्रगती विवरण अनुसार एक महिनाको अवधीमा जिल्लामा घटित विभिन्न अपराधका ७३ मुद्दा दर्ता भएकोमा ३५ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार यस अवधीमा सामान्य ४४, गम्भिर २४ र जघन्य ५ गरी अपराधका कुल ७३ वटा मुद्दा दर्ता भएका थिए । जसमध्येका ३५ जना प्रतिवादी पक्राउ परिसकेका छन् ।
यसरी पक्राउ पर्नेमा ठगि, कुटपिटदेखी कर्तव्य ज्यान मुद्दा सम्मका प्रतिवादी छन् । अन्य फरार प्रतिवादीको खोजिकार्य पनि तिब्र बनाइएको उनको भनाई छ । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा प्रहरी, नागरिकबीचको सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउन यस अवधीमा नागरिक÷सार्वजनिक सुनुवाई कार्यक्रम, विपद् व्यवस्थापन, समुदायसँग प्रहरी लगायतका विविध कार्यक्रम समेत गरिएको उनले जानकारी दिए ।
प्रहरी उपरिक्षक गौतम कुमार केसीले जिल्लामा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रणमा प्रहरी र समुदायको सहकार्य आवश्यक रहेकाले सोही अनुसारको गतिविधी अघि बढाइएको बताए । जेनजी आन्दोलनमा प्रहरीसँगै जिल्लाले अकल्पनीय क्षति भोग्नु परेको बताउँदै उनले प्रहरी मनोवल उकास्न नियमित रोलकल, इन्टरनेटमा सहज पहुँच, मनोरन्जनका लागि खेलकुद सामाग्रिको व्यवस्था तथा प्रत्येक प्रहरी कर्मचारीको जन्मदिनमा शुभकामना र बधाई तथा उनीहरुको गुनासो सुन्ने व्यवस्थासहित सम्बोधनको प्रयास लगायतका गतिविधी अघि बढाइएको जनाए ।

अपराध नियन्त्रणसँगै अहिले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित तथा मर्यादित ढंगले सम्पन्न गर्न विभिन्न सुरक्षा योजना समेत बढाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।







