जनकपुरधाम, माघ ४ । नेकपा एमालेले मधेश प्रदेशका चार जना प्रदेश सांसदलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार उनीहरू आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका हुन् ।
एमालेबाट उम्मेदवार बन्ने चारै जना मधेश प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद हुन् । उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै उनीहरूले प्रदेश सांसद पदबाट राजीनामा दिने तयारीसमेत गरेका छन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनमत पार्टीबाट निर्वाचित भई हाल एमालेमा आबद्ध सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । उनी मधेश प्रदेशको नेतृत्व गरिसकेका अनुभवी राजनीतिज्ञ मानिन्छन् ।
धनुषा क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई उम्मेदवार बनाइएको छ । मण्डल संसदीय अभ्यास र संगठनात्मक क्षमताका कारण पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

यस्तै महोत्तरी क्षेत्र नम्बर ४ बाट मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोज यादवलाई उम्मेदवार बनाइएको छ । यादवले प्रदेश सरकार सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर ३ बाट एमालेका प्रदेश सांसद प्रमोद जयसवाललाई पनि प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारिएको छ ।
एमाले नेतृत्वले मधेश प्रदेशमा संगठन सुदृढ गर्दै संघीय संसदमा पार्टीको प्रभाव बढाउने उद्देश्यका साथ यी उम्मेदवार चयन गरेको जनाएको छ । पार्टी स्रोतका अनुसार मधेशमा बलियो जनाधार भएका नेताहरूलाई अघि सारेर चुनावी प्रतिस्पर्धामा मजबुत उपस्थिति जनाउने रणनीति लिइएको हो ।
चारै उम्मेदवारको चयनले मधेश प्रदेशको राजनीति थप सक्रिय र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।







