ओम प्रकाश यादव
रौतहट, माघ ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा म्यादि प्रहरी भर्नाका लागि अपेक्षाभन्दा धेरै आवेदन परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मागभन्दा झण्डै दोब्बर संख्यामा आवेदन परेका छन्।
जिल्लामा म्यादि प्रहरीका लागि ३ हजार ८ सय ५१ जनाको कोटा खुलाइएकोमा ६ हजार ७ सय ३६ जनाले आवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा सूचना अधिकारी विष्णुप्रदीप बस्यालले सो जानकारी दिएका हुन्। उनका अनुसार यसपटक म्यादि प्रहरी भर्नामा उल्लेखनीय प्रतिस्पर्धा देखिएको छ।

पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन संकलन गरिएको थियो। सो अवधिमा जिल्लाका चार स्थानबाट आवेदन दर्ता गरिएको डीएसपी बस्यालले बताए।
आवेदन दर्ता भएका स्थानहरूमा जिल्ला प्रहरी कार्यालय, गौर, इलाका प्रहरी कार्यालय, गरुडा, इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय, विजयपुर रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती प्रहरी कार्यालयहरुबाट संकलन गरिएका आवेदनहरूको संख्या ६ हजार ७ सय ३६ पुगेको छ, जुन माग गरिएको संख्याभन्दा निकै बढी हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रवीन कार्कीका अनुसार माघ ४ गते सम्पर्क मिति तोकिएको छ।
सम्पर्कमा आएका आवेदकहरूमध्येबाट माघ ५ गतेदेखि माघ ९ गतेसम्म विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गरिनेछ।
छनोट प्रक्रियाबाट योग्य ठहरिएका ३ हजार ८ सय ५१ जनालाई म्यादि प्रहरीका रूपमा नियुक्त गरिने उनले जानकारी दिए।
एसपी कार्कीका अनुसार छनोट प्रक्रिया पूर्ण रूपमा पारदर्शी र मापदण्डअनुसार गरिनेछ। शारीरिक तन्दुरुस्ती, स्वास्थ्य अवस्था तथा आवश्यक मापदण्ड पूरा गरेका उम्मेदवारलाई प्राथमिकता दिइने उनले बताए।
निर्वाचन अवधिभर शान्ति, सुरक्षा र निष्पक्ष वातावरण कायम राख्न म्यादि प्रहरीको भूमिका महत्वपूर्ण रहने भएकाले ठूलो संख्यामा युवाहरूको सहभागिता देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यसले जिल्लामा बढ्दो बेरोजगारी र रोजगारीको सीमित अवसरतर्फ पनि संकेत गरेको स्थानीय जानकारहरू बताउँछन्।







