सप्तरी, माद्य ५ । सप्तरी जिल्लामा माघ ६ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता प्रक्रिया शान्त र व्यवस्थित रूपमा सम्पन्न गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत किशोर घिमिरेले मनोनयन दर्ताका लागि आउने पहिलो दलका उम्मेदवारको मनोनयन दर्ता गरिने जानकारी दिनुभएको छ ।
आइतबार राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा बोल्दै अधिकृत घिमिरेले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँका अनुसार मनोनयन दर्ताका क्रममा सुरक्षा अवस्था र व्यवस्थापनलाई ध्यानमा राख्दै दलहरूले २५ जनाभन्दा बढी व्यक्ति नल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
घिमिरेले मनोनयन दर्ताको समयमा भिडभाड हुन नदिन, अनुशासन कायम गर्न र शान्त वातावरण निर्माणमा सबै दलको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । निर्वाचन प्रक्रियालाई मर्यादित र सुरक्षित बनाउन सुरक्षाकर्मी तथा प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत निर्वाचन तालिकाअनुसार माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गरिने कार्यक्रम तय भएको छ । सोही सन्दर्भमा आयोजित बैठकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मनोनयन दर्ताका क्रममा एकैचोटि भीड जम्मा हुने सम्भावना रहेको उल्लेख गर्दै राजनीतिक दलहरूलाई पालैपालो मनोनयन दर्ता गर्न आग्रह गर्नुभयो ।
पोखरेलले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि किसिमको अवाञ्छित गतिविधि नगर्न तथा प्रशासन र सुरक्षा निकायसँग सहकार्य गर्न दलहरूलाई आग्रह गर्नुभयो ।
उक्त सर्वपक्षीय बैठकमा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख ईसरत प्रविण, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
जिल्ला प्रशासन र निर्वाचन कार्यालयले मनोनयन दर्तादेखि मतदानसम्मको सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी बनाउन आवश्यक तयारी पूरा गरिएको जनाएका छन् ।






