काठमाडौँ, माघ ५ । आगामी प्रतिनिधिसभा निर्वाचन को समयमा बाहिरी सुरक्षा व्यवस्था नेपाली सेनाले सम्हाल्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार तीन चरणमा सेना परिचालन गर्ने निर्णय गरेका छन्।
एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनको ३० दिनअघि देखि सेनाले फ्ल्याग मार्च, गस्ती तथा पट्रोलिङ गर्नेछ। मतदान अवधिभर महत्त्वपूर्ण प्रतिष्ठान, कारागार र विमानस्थलको सुरक्षा सेनाले सम्हाल्नेछ। मतदान सकिएको १५ दिनभित्र यी सुरक्षा जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ।
सेनाले मतपत्र, मतपेटिका र अन्य निर्वाचन सामग्रीको ढुवानी तथा सुरक्षा पनि गर्नेछ। निर्वाचनको समयमा आपतकालीन उद्धारका लागि सैनिक जनशक्ति परिचालन गरिनेछ र आवश्यक परे हेलिकप्टर समेत प्रयोग गरिनेछ।
शंकास्पद वस्तु वा विस्फोटक पदार्थ निष्कृय पार्न सेनाले बम डिस्पोजल टोली परिचालन गर्नेछ। त्यसैगरी, प्रत्येक जिल्ला र प्रत्येक पृतना तहमा ‘एकीकृत निर्वाचन सुरक्षा कक्ष’ स्थापना गरिने छ, जसबाट रणनीतिक बिन्दुहरूमा सैनिक पिकेटको व्यवस्थापन हुनेछ।
मतदान हुने दिन सेनाले प्रत्येक मतदान केन्द्रबाट ३० मिनेटभित्र पुग्ने तयारी राख्नेछ। मतदान अधिकृत वा प्रमुख जिल्ला अधिकारीको अनुरोधमा सेनाले सम्पूर्ण सुरक्षा जिम्मेवारी लिने व्यवस्था एकीकृत सुरक्षा योजनामा उल्लेख गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्देशनमा सेनाले स्ट्राइकिङ, मोबाइल तथा हवाई गस्ती समेत गर्नेछ। साथै, प्रत्येक जिल्लामा रहेको रिजर्व फोर्स आवश्यक परे परिचालन गरिने छ।
सुरक्षा अधिकृतहरूले जनसमुदायलाई शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सहयोग गर्न र भिडभाड नियन्त्रणमा रहन आग्रह गरेका छन्। सेनाको परिचालनले निर्वाचन प्रक्रियालाई सुरक्षित, व्यवस्थित र निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।




