लहान , माघ ८ । लहान नगरपालिकाका सामुदायिक विद्यालयहरूमा शिक्षक र विद्यार्थीलाई विपद् न्यूनीकरण तथा सुरक्षा विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले सरसफाइ, स्वच्छता र विपद् व्यवस्थापनबारे सचेतना फैलाउने उद्देश्य राखेको थियो।
यो कार्यक्रम दलित जनकल्याणको अगुवाइमा, लहान नगरपालिकाको सहयोग र विकन परियोजनाको साझेदारीमा सञ्चालन गरिएको हो। परियोजनाअन्तर्गत नगरपालिकाका विपन्न बस्तीमा रहेका सामुदायिक विद्यालयहरूमा खानेपानीका ट्याङ्की र व्यवस्थित शौचालय निर्माण गरिएको छ।
विकन परियोजनाका प्रमुख कविन्द्र पुडासेनीका अनुसार विद्यालयहरूले खानेपानी र स्वच्छता सम्बन्धी १० मापदण्ड पूरा गर्दा विपद् व्यवस्थापनबारे कार्यक्रम नभएको कारण तीन तारा प्राप्त गर्न सकेका थिएनन्। बाढी, पहिरो र भूकम्प जस्ता विपद् जोखिम न्यूनीकरणका लागि विद्यालयस्तरमै पूर्वतयारी आवश्यक भएकोले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा लहान–१७ स्थित श्री जनता आधारभूत विद्यालय, दौलतपुरका प्रधानाध्यापक पप्पु यादवले अभिमुखीकरणले विद्यालयलाई स्वच्छता र खानेपानी व्यवस्थापनका साथै विपद् जोखिम न्यूनीकरणमा व्यवस्थित र सुरक्षित बनाउने योगदान पुगेको बताए।
लहान नगरपालिकाका सामुदायिक विद्यालयहरूको सुधार र विकासमा लगानीको प्रतिफल प्राप्त गर्न सरसफाइदेखि विपद् व्यवस्थापनसम्मका कार्यक्रमहरू विकन परियोजना र वाटर एडको सहयोगमा सञ्चालन भइरहेको नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो।
अभिमुखीकरण कार्यक्रममा शिक्षक–विद्यार्थीलाई प्राथमिक उपचारसम्बन्धी विधि र सामग्रीसमेत प्रदान गरिएको सहजकर्ता नम्रता भट्टले बताउनुभयो। उहाँका अनुसार २०८४ सालअघि सबै सामुदायिक विद्यालयहरूलाई तीन तारा चिन्ह प्राप्त गराउने तयारी भइरहेको छ।
कार्यक्रममा लहान नगरपालिका सरसफाइ संयोजक महेश्वरी चौधरी, प्रशिक्षक राकेश लोहनी, रूपनारायण यादव र माधव विष्टले शिक्षक तथा विद्यार्थीलाई विपद् न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिनुभयो।






